नेपाली कांग्रेस (थापा समूह) को १५ औं महाधिवेशन आजबाट सुरु

नेपाली कांग्रेस (थापा समूह) को १५ औं महाधिवेशन आजबाट सुरु


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्रको राजनीतिक सरगर्मीका बीच गगनकुमार थापा पक्षधरको बहुप्रतीक्षित १५औँ महाधिवेशन आज असोज १८ गतेदेखि काठमाडौंमा औपचारिक रूपमा सुरु हुँदैछ।

काठमाडौंको ऐतिहासिक खुल्लामञ्चमा आयोजना हुने विशेष उद्घाटन समारोहका बीच महाधिवेशनको शुभारम्भ गरिने कार्यक्रम छ। सो महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गर्ने तय भएको छ।

खुल्लामञ्चमा मञ्च तयार, झाँकीसहित उद्घाटन

महाधिवेशनको उद्घाटन सत्रलाई भव्य र व्यवस्थित बनाउन खुल्लामञ्चमा आकर्षक मञ्च निर्माण गरिएको छ। देशभरबाट भेला हुने प्रतिनिधि, शुभचिन्तक तथा कार्यकर्ताहरूको सहभागिताका लागि विशेष व्यवस्था मिलाइएको आयोजक समितिले जनाएको छ। कार्यक्रमअघि उपत्यकाका विभिन्न स्थानबाट सांस्कृतिक झाँकी तथा बाजागाजासहितको र्‍याली खुल्लामञ्च पुग्ने तालिका छ।

७ हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने

प्रवक्ता देवराज चालिसेका अनुसार यस महाधिवेशनमा देशभरका विभिन्न जिल्ला, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिहरूबाट गरी करिब ७ हजार महाधिवेशन प्रतिनिधिहरू सहभागी हुँदैछन्। उद्घाटन सत्र सम्पन्न भएपछि महाधिवेशनको बन्दसत्र भने भोलिदेखि राष्ट्रिय सभागृहमा सञ्चालन हुनेछ।

प्रविधिमैत्री र वातावरणमैत्री प्रचारप्रसार

यस पटकको महाधिवेशनमा परम्परागत रूपमा गरिने फ्लेक्स, ब्यानर वा भित्तेलेखनजस्ता तामझामलाई निरुत्साहित गरिएको छ। पार्टीले वातावरणमैत्री नीति अपनाउँदै प्रचारप्रसारका लागि डिजिटल तथा प्रविधिको बढीभन्दा बढी प्रयोग गर्न महाधिवेशन प्रतिनिधि तथा उम्मेदवारहरूलाई आह्वान गरेको छ।

नयाँ नेतृत्व र नीतिको तय गरिने

महाधिवेशनले पार्टीको नयाँ सांगठनिक संरचना, नीति तथा आगामी कार्यदिशा तय गर्नुका साथै केन्द्रीय नेतृत्वको चयनसमेत गर्नेछ। महाधिवेशनस्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ भने ट्राफिक व्यवस्थापनका लागि समेत विशेष टोली परिचालन गरिएको छ।