काठमाडौं । काठमाडौंमा जारी कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिएर चर्चामा आएका छन् श्यामकृष्ण खड्गी । उनी कांग्रेसका हाइप्रोफाइल नेता भने होइनन् । तारकेश्वर नगरपालिका २ का स्थाइ बासिन्दा खड्गी कांग्रेसको महाधिवेशन प्रतिनिधि मात्र हुन् ।
उनी काठमाडौं-६ बाट महाधिवेशन प्रतिनिधि चयन भएका थिए । खड्गीका भाइ तारकेश्वर २ मा कांग्रेसबाटै वडाध्यक्ष छन् । खड्गीका अनुसार उनी २०४६ सालमा अस्कल क्याम्पसबाट होमराज दाहालको नेतृत्वमा लोकतान्त्रिक आन्दोलनमा सहभागी भएका थिए । त्यसयता कांग्रेसको संगठन विस्तार, लोकतान्त्रिक आन्दोलन र पार्टीको आन्तरिक राजनीतिमा निरन्तर सक्रिय रहँदै आएको उनको भनाइ छ ।
कांग्रेस संगठनभित्र वडा तहदेखि क्षेत्रीय नेतृत्वसम्म जिम्मेवारी सम्हालेका खड्गीले वडा उपसभापति, वडा सभापति हुँदै काठमाडौं– ६ को क्षेत्रीय सभापतिको जिम्मेवारी दुई पटक सम्हालिसकेका छन् । कांग्रेस सभापति गगन थापासँग भने खड्गीको अलग खालको सम्बन्ध भेटिएको छ ।
गगन थापाले पढेको सिद्धार्थ वनस्थली स्कुलमा पढाउँछन् खड्गी । थापाले सो स्कुलमा कक्षा ९ र १० मा अध्ययन गरेका थिए । खड्गी अहिले पनि त्यही विद्यालयमा पढाइरहेका छन् ।
गगनभन्दा अगाडि नै खड्गीले सभापतिमा मनोनयन दर्ता गरेका छन् । त्यसो त सभापतिको अर्का आकांक्षीका रुपमा किशोरसिंह राठौर पनि छन् । राठौर र गगन दुवैले त्रिचन्द्र कलेज पढेका हुन् ।


प्रतिक्रिया