काठमाडौं । घरायसी विवादका क्रममा श्रीमती हत्या आरोपमा प्रहरीले बाराको निजगढ नगरपालिका–१२ रामथलीका ५५ वर्षीय विजय मोक्तानलाई पक्राउ गरेको छ ।
घरायसी विवादका क्रममा उनले बुधबार श्रीमती ४७ वर्षीया सुकुमाया मोक्तानलाई लहराको टुक्राले कुटपिट गरेका थिए । कुटपिटबाट सामान्य घाइते भएकी सुकुमायाको स्थानीय मेडिकलबाट चिकित्सकलाई घरमै बोलाई जाँच तथा औषधि उपचार गराइएको थियो । राति ८ बजे खाना खाएर सुतेकी सुकुमायालाई बिहीबार बिहान ४ बजे उठाउन खोज्दा नउठेपछि विजयले ६:४० बजे अस्थायी प्रहरी पोष्ट रतनपुरमा गराएका थिए ।
जानकारी प्राप्त हुनासाथ घटनास्थल पुगेको प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बारा पठाएको छ । घटनामा संलग्न मोक्तानलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया