मेरो नाम जोडेर आएको सूचि आधिकारिक होइनन्: गगन

मेरो नाम जोडेर आएको सूचि आधिकारिक होइनन्: गगन


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ। निर्धारित समयभन्दा प्राविधिक कारणले निर्वाचन एक दिन ढिलो भएपछि नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिहरूसँग क्षमायाचना गर्दै कसैको भ्रममा नपरी विवेकपूर्ण रूपमा मतदान गर्न अपिल गरेका छन्।

मतदान सुरु हुनुअघि एक सन्देश जारी गर्दै सभापति थापाले प्राविधिक कारणले ढिलाइ हुँदा महाधिवेशन प्रतिनिधिहरूमा पर्न गएको असुविधाप्रति दुःख व्यक्त गरे। उनले सम्पूर्ण प्रतिनिधिहरूलाई मर्यादित, संयमित र उत्साहपूर्ण ढङ्गले यस लोकतान्त्रिक अभ्यासमा सहभागी हुन आग्रह गरेका छन्।

​पार्टीभित्र प्यानल वा गुटबन्दीको अन्त्य भएको दाबी गर्दै सभापति थापाले आफ्नो नाम जोडेर प्रचार गरिएका विभिन्न उम्मेदवारका सूचीहरूप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। “यो पार्टीभित्रको स्वस्थ आन्तरिक लोकतान्त्रिक प्रक्रिया हो, यसपटक कुनै पनि प्यानल वा गुट छैन,” उनले भने, “मेरो नाम जोडेर आएका कुनै पनि सूचीलाई मेरो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझिदिनुहुन र अफवाहको पछि नलाग्न आग्रह गर्दछु।”

​थापाले कुनै पनि किसिमको भ्रम वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यानमा राखी आफ्नो स्वतन्त्र विवेक, सही मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेका छन्। प्रतिनिधिहरूको विवेकपूर्ण निर्णयले नै पार्टी सङ्गठनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास उनले व्यक्त गरेका छन्।