कांग्रेस महाधिवेशन: दिउँसो २:३० बजेसम्म ३ हजार ७५४ मत खस्यो

कांग्रेस महाधिवेशन: दिउँसो २:३० बजेसम्म ३ हजार ७५४ मत खस्यो


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो २:३० बजेसम्म ३ हजार ७५४ मत खसेको छ ।

निर्वाचन समितिका अनुसार विभिन्न प्रदेश तथा समूहमा तोकिएका मतदान केन्द्रमा मतदान जारी छ । कुल ७ हजार ३१७ प्रतिनिधिमध्ये अहिलेसम्म ३ हजार ७५४ जनाले मतदान गरेका छन् ।

दिउँसो २:३० बजेसम्मको विवरणअनुसार कोशी प्रदेशमा १ हजार २०७ प्रतिनिधिमध्ये ६१३, मधेसमा १ हजार २३४ मध्ये ५९०, सुदूरपश्चिम, कर्णाली र जनसम्पर्क समितितर्फका २ हजार ४५७ मध्ये ७३३ जनाले मतदान गरेका छन्।

त्यस्तै, लुम्बिनीमा १ हजार ७९ प्रतिनिधिमध्ये ५७९, गण्डकीमा ७८७ मध्ये ५०७ र बागमतीमा १ हजार ४९१ मध्ये ७३२ जनाले मतदान गरेका छन् ।

निर्वाचन समितिले यसअघि दिउँसो ३ बजेसम्मका लागि तोकेको मतदानको समय बढाएर साँझ ५ बजेसम्म पुर्‍याएको छ। मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन रहेकाले समय थप गरिएको हो। मतदान निर्वाध रूपमा चलिरहेको निर्वाचन समितिले जनाएको छ ।

मतदान समय दुई घण्टा थपियो, साँझ ५ बजेसम्म हुने
नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ। दिउँसो ३ बजेसम्मको समय तोकिएकामा मतदान गर्न एक जनालाई कम्तीमा आधा घण्टा लागेसँगै ढिलाई हुँदा साँझ ५ बजेसम्मको समय थपिएको हो ।

केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै यसअघि दिउँसो ३ बजेसम्मका लागि निर्धारण गरिएको मतदानको समय बढाएर साँझ ५ बजेसम्म कायम गरिएको जनाएको छ । बिहान ७ बजेपछि शुरू भएको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन् । मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन लागेपछि मतदानको समय थप गरिएको हो।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन् । महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यसहितलाई गरी २३ ओटा क्लस्टरमा मतदान गर्नुपर्ने भएकाले समय लागेको हो । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले सूचना जारी गर्दै मतदानको समय थप गरिएको जानकारी दिएका हुन् ।