गृहमन्त्री सुधन आज भारत भ्रमणमा जाँदै, विवादित व्यापारी पनि सहभागी

गृहमन्त्री सुधन आज भारत भ्रमणमा जाँदै, विवादित व्यापारी पनि सहभागी


ग्लोब नेपाल
135
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सोमबार भारत भ्रमणमा जाँदैछन् । उनी मन्त्री बनेपछि पहिलो विदेश भ्रमणमा भारतको नयाँ दिल्ली जान लागेका हुन् । गुरुङ पर्सी त्यहाँ हुने बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) का सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुँदैछन् ।

भारतसहित सदस्य राष्ट्रका गृहमन्त्रीहरूसँग हुने द्विपक्षीय तथा साइडलाइन भेटवार्तामा उठाउनुपर्ने विषयबारे व्यापारी तथा व्यवसायीसँग छलफल आयोजना गरिएको थियाे ।

गत शुक्रबार अपरान्ह साढे ४ बजे गृह मन्त्रालयमा आयोजित छलफलमा विशेषगरी भारतीय गृहमन्त्री अमित शाहसँग हुने भनिएको छुट्टै भेटवार्तामा उठाउनुपर्ने विषयमा व्यवसायी तथा व्यापारीहरूबाट केही सुझाव लिइएको बताइन्छ ।

छलफलमा नेपालबाट भारततर्फ हुने निर्यातमा देखिएका अवरोध,गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, नेपालबाट हुने जलविद्युत् निर्यात, विदेशी लगानीको वातावरण, गुणस्तरसम्बन्धी मापदण्ड र सीमा सुरक्षालगायत विषय उठाउन सुझाव दिइएको बुझिएको छ ।

भ्रमणमा को–को जाँदैछन् ?
गृह मन्त्रालयको छलफलमा १४ जना व्यापारी तथा व्यवसायी सहभागी रहेको बताइन्छ । तीमध्ये नौ जना मारवाडी समुदायका र पाँच जना पहाडी मूलका व्यवसायी थिए ।

छलफलमा व्यापारी तथा व्यवसायीहरु शेखर गोल्छा, पवन गोल्यान, अरुण चौधरी, हितेश गोल्छा, कमलेश अग्रवाल, चन्द्रप्रसाद ढकाल, उमेश श्रेष्ठ, दीपक मल्होत्रा, सुरज वैद्य, कुशकुमार जोशीलगायत सहभागी थिए । दुगड समूहका प्रतिनिधि र समुद्रपार आयातसम्बन्धी व्यवसायीहरूको प्रतिनिधित्वसमेत थियो ।

सहभागीमध्ये केही व्यवसायी विगतमा प्रहरी अनुसन्धान र हिरासतमा परेको घटनासँग जोडिएका छन् । गोल्छा वर्तमान सरकारको कार्यकालमा पक्राउ परेपछि धरौटीमा छुटेका हुन् । पवन गोल्यान पनि विवादित व्यापारी हुन् ।

गृहमन्त्रीका सल्लाहकार आमोद गुरुङ पनि सहभागी छन् । उक्त छलफलमा प्रधानमन्त्रीको प्रस्तावित भारत भ्रमणबारे कुनै सन्दर्भ नउठेको बुझिएको छ ।