कर्णालीका सांसदको आफन्त मोह, स्वकीयमा ज्वाइँदेखि छोरासम्मलाई नियुक्ति

कर्णालीका सांसदको आफन्त मोह, स्वकीयमा ज्वाइँदेखि छोरासम्मलाई नियुक्ति


ग्लोब नेपाल
0
Shares

सुर्खेत । कर्णाली प्रदेश सभामा रहेका २९ जना सभामुखसहित सांसदहरुले स्वकीय नियुक्तिमा केहीबाहेक अधिकांशले आफन्तलाई भर्ती गरेका छन् । तीनजनाले भने हालसम्म स्वकीय नियुक्ति गरेका छैनन् ।

तत्कालीन जेनजी विद्रोहबाट गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले एक परिपत्र जारी गर्दै सांसदहरुको स्वकीय सुविधा खारेज गरेसँगै कर्णाली प्रदेश सभाले पनि ती सबै सांसदहरुको स्वकीय सुविधा खारेज गरेको थियो ।

झण्डै एक वर्षपछि कर्णाली प्रदेश सरकारले निर्णय गर्दै सुब्बासरहको स्वकीय सुविधा प्रदेश सभामा रहेका सभामुखसहितका सांसदहरुलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।
पूर्व भौतिक पूर्वाधार एवम शहरी विकास राज्यमन्त्री गमता विकले आफ्नै ज्वाईलाई पुनः स्वकीयमा नियुक्ति दिएकी छिन् । उनका ज्वाइँको नाम दानबहादुर विक हो ।

पूर्व आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले आफ्नै श्रीमती निर्मला केसीलाई नियुक्ति दिँदा पूर्व भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले सजना शर्मालाई नियुक्ति दिलाएका छन् ।

यस्तै, नेपाली कांग्रेसका प्रमूख सचेतक हिक्मतबहादुर विष्टले आफ्नै छोरा अशोक विष्टलाई नियुक्ति दिलाएका छन् भने पूर्व आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले प्रकाशवावु सिंहलाई नियुक्ति थमाएका हुन ।

पूर्व मन्त्री उर्मिला विश्वकर्माले मनिता विश्वकर्मालाई नियुक्ति दिदाँ  इन्द्रा कुमारी शाहीले दिपेन्द्र शाहीलाई नियुक्ति दिइन् । पूर्व मन्त्री दुर्गबहादुर रावतले जीवन रावतलाई स्वकीय सचिवमा नियुक्त गर्दा देवेन्द्रबहादुर शाहीले वर्णध्वज शाहीलाई नियुक्ति दिलाए ।

दक्षिणा शाहीले भुवन शाही, पूर्णबहादुर खत्रीले राजन केसीलाई नियुक्ति दिँदा वीरबहादुर शाहीले जितबम ठकुरीलाई नियुक्ति दिए । पूर्वमन्त्री विनोदकुमार शाहले सुमित्रा शाहीलाई नियुक्ति दिदाँ पूर्व मन्त्री सुरेश अधिकारीले मोहन शर्मालाई छाने ।

यस्तै,राप्रपा सांसद सन्तोषी शाहीले सुजिता सिंहलाई रोज्दा राजीवविक्रम शाहले ललित बस्नेतलाई स्वकीय बनाएका छन् । कांग्रेस सांसद लक्ष्मी सुनारले धनसरा राना, पूर्वमन्त्री विजया बुढाले नवराज भण्डारी, शेरबहादुर बुढाले पदम बुढा, पूर्वमन्त्री विन्दमान विष्टले पदम बहादुर गुरुङलाई नियुक्त गरे । पूर्वमन्त्री खड्कबहादुर पोखरेलले संजय पोखरेललाई नियुक्ति दिएका छन् ।

पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले राजबहादुर रोकायालाई नै निरन्तरता दिए भने पूर्वमुख्यमन्त्री यामलाल कँडेलले यसकुमार चपाईलाई नै निरन्तरता दिएका छन् ।जानकी सिंहले तेजबहादुर विसिलाई छान्दा पूर्व मन्त्री कृष्ण कुमार विसिले महेन्द्र सापकोटालाई नियुक्ति दिए ।

पूर्व मन्त्री घनश्याम भण्डारीले खगेन्द्रबहादुर खड्का, सभामुख नन्दा गुरुङले गंगाराम तिमिल्सेनालाई नियुक्ति दिए । प्रदेश सभामा पूर्व मुख्यमन्त्री राजकुमार शर्माको पद रिक्त भइसकेको छ । यद्यपी उनले कृष्णबहादुर रोकायालाई नै नियुक्ति दिएका थिए ।

कर्णाली प्रदेश सभाका उपसभामुख यशोधा न्यौपाने, पूर्वमन्त्री कृष्णबहादुर जिसी र सांसद बलिमाया बुढाले भने स्वकीय सचिव नियुक्त नगरेको प्रदेश सभाका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिए ।

‘कर्णाली प्रदेश सरकारले प्रदेश सभालाई स्वकीय नियुक्ति दिन भनेर पत्र पठाएको थियो । सोही आधारमा हामीले स्वकीय नियुक्ति गर्न सांसदहरुलाई खबर गरेका थियौँ,’ उनले भने, ‘तीन जना सांसद ज्यूले हालसम्म नियुक्ति गर्नु भएको छैन । उहाँहरुले पनि नियुक्ति गर्नुहुन्छ होला ।’