काठमाडौं । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा हटाएपछि पार्टीले पूर्वसैनिक तथा प्रहरी संगठनलाई केन्द्रीय कार्यालयको सुरक्षा जिम्मा दिएको हो ।
कार्यालय परिसरमा सुरक्षा जोखिम बढेको महसुस गर्दै एमालेले चौतर्फी रूपमा शक्तिशाली क्यामेरा (सीसीटीभी) जडान गरी निगरानीसमेत बढाएको छ ।
२०४८ देखि सरकारले एमाले केन्द्रीय कार्यालयलाई दिँदै आएको सुरक्षा सेवा हालै कुनै पूर्वजानकारीविना हटाइएको थियो । सरकारी सुरक्षा हटाइएपछि र पछिल्लो समय कार्यालय परिसरमा अपरिचित व्यक्तिहरूको अस्वाभाविक आउजाउ तथा गतिविधि बढेपछि पार्टीले आफ्नैतर्फबाट सुरक्षा सतर्कता बढाउनुपरेको जनाइएको छ ।
नयाँ व्यवस्थाअनुसार पूर्वसैनिक तथा पूर्वप्रहरीहरूको टोलीले २४ सै घण्टा कार्यालयको सुरक्षा पहरा दिनेछ भने क्यामेरामार्फत हरेक गतिविधिको सूक्ष्म निगरानी गरिनेछ । गत वर्षको जेनजी आन्दोलनमा एमाले, कांग्रेस, नेकपाको पार्टी कार्यालय आगजनी र तोडफोड भएको थियो । तर रास्वपा र राप्रपाका पार्टी कार्यालय सुरक्षित रहे ।


प्रतिक्रिया