काठमाडौं । बडादसैँ, तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गरी नेपाल प्रहरीले देशभर ५० हजार ४५८ प्रहरी परिचालन गरेको छ । चाडपर्वको क्रममा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको सुरक्षा र सहज आवागमन सुनिश्चित गर्न प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना–२०८३’ कार्यान्वयनमा ल्याएको हो ।
सुरक्षा योजनाअन्तर्गत चोरी, डकैती, लुटपाट, ठगी, जुवातास, अनलाइन ठगी, सट्टेबाजी, नक्कली नोटको कारोबार र अवैध हुन्डीलगायतका गतिविधि नियन्त्रणलाई प्राथमिकता दिइएको छ । अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुन सक्ने अवैध हातहतियार, पटका, विस्फोटक पदार्थ तथा लागुऔषधको ओसारपसार र तस्करी रोक्न समेत विशेष निगरानी बढाइएको नेपाल प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआइजी) अबिनारायण काफ्लेका अनुसार असोज २१ गतेदेखि लागू भएको विशेष सुरक्षा योजनामा अपराध रोकथाम, सक्रिय रुपमा प्रहरी परिचालन, सडक दुर्घटना न्यूनीकरण र प्रविधिको प्रयोगमा जोड दिइएको छ । “समग्रमा अहिले देशभरको शान्ति सुरक्षा सन्तोषजनक छ । आम नागरिकले चाडपर्व सुरक्षित रूपमा हर्षोल्लासका साथ मनाउन सकून् भनेर नेपाल प्रहरीले कार्ययोजनासहित काम गरिरहेको छ” उनले भने ।
प्रदेशगत रूपमा प्रहरी परिचालन
नेपाल प्रहरीका प्रवक्ता डीआइजी काफ्लेका अनुसार चाडपर्वलक्षित सुरक्षा योजनाअन्तर्गत काठमाडौं उपत्यकासहित सातै प्रदेशमा ५० हजार ४५८ प्रहरी परिचालन गरिएका छन् । प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा सबैभन्दा बढी आठ हजार १३३ प्रहरी खटाइएका छन् ।
लुम्बिनी प्रदेशमा सात हजार ९२१, काठमाडौं उपत्यकामा सात हजार ६६८, मधेश प्रदेशमा सात हजार २३०, गण्डकी प्रदेशमा पाँच हजार १८८, कर्णाली प्रदेशमा पाँच हजार ३१४, बागमती प्रदेशमा चार हजार ४९९ र सुदूरपश्चिम प्रदेशमा चार हजार ५०५ प्रहरी परिचालन हुनेछन् ।
चाडपर्वको समयमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने, बजारमा भिड हुने र घर खाली गरेर बाहिरिने नागरिकको सङख्या बढ्ने भएकाले त्यस्तो क्षेत्रमा सुरक्षा निगरानी बढाइएको प्रवक्ता काफ्ले बताए ।
यात्रु सहायता कक्ष
चाडपर्वमा यात्रु ठगी, बढी भाडा असुली र आवागमनको क्रममा हुन सक्ने समस्यालाई सम्बोधन गर्न देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । त्यस्तै, सीमावर्ती क्षेत्रमा आउने नागरिकलाई लक्षित गरी १०८ स्थानमा सहायता कक्ष सञ्चालन गरिएको प्रवक्ता काफ्लेले जानकारी दिए ।
सार्वजनिक यातायातको यात्रा सुरक्षित बनाउन बस छुट्नुअघि नै चालकको अनुमतिपत्र, मादक पदार्थ तथा लागुऔषध सेवन गरे–नगरेको र सवारी साधनको अवस्थाबारे जाँच गर्ने व्यवस्था मिलाइएको छ ।
लामो दूरीका सवारी साधनमा दुईजना चालक भए–नभएको तथा सवारी साधनको यान्त्रिक अवस्था जाँच गर्ने व्यवस्थालाई पनि प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ । राजमार्गमा यात्रुले खाना तथा अन्य उपभोग्य सामग्री खरिद गर्दा ठगी, बढी मूल्य असुली, कालोबजारी र म्याद गुज्रिएका सामग्रीको बिक्री हुन नदिन सम्बन्धित निकायसँग समन्वय गरी अनुगमन पनि भइरहेको प्रवक्ता काफ्ले बताए ।
सीसीटीभी र ड्रोनबाट निगरानी
यस वर्षको सुरक्षा योजनामा प्रविधिको प्रयोगलाई पनि प्राथमिकता दिइएको छ । प्रमुख सहरी क्षेत्र तथा संवेदनशील स्थानमा सीसीटीभीमार्फत निगरानी गर्नुका साथै आवश्यकताअनुसार ड्रोन, तालिमप्राप्त कुकुर र प्रहरी कर्मचारीले लगाउने बडी क्यामेरासमेत प्रयोग गरिएको प्रहरीले जनाएको छ ।
प्रवक्ता काफ्लेका अनुसार सुरक्षा निकायबिच समन्वय र तत्काल सूचना आदान–प्रदानको व्यवस्था मिलाइएको छ । प्रविधिबाट प्राप्त सूचनाका आधारमा सुरक्षा परिचालनलाई प्रभावकारी बनाउने प्रयास गरिएको छ ।
चाडपर्वको समयमा डिजिटल तथा वित्तीय ठगीका घटना हुन सक्ने भएकाले बैंक तथा वित्तीय संस्थाको कर्मचारी भएको भन्दै फोन गर्ने वा विभिन्न प्रलोभन देखाएर ओटीपी, पिन, पासवर्ड तथा बैंकिङ विवरण माग्ने व्यक्तिबाट सावधान रहन प्रहरीले आग्रह गरेको छ ।
चिट्टा परेको भन्दै रकम माग्ने, शङ्कास्पद लिङ्क पठाउने तथा अनलाइन कारोबारका नाममा ठगी गर्ने गतिविधिबाट जोगिन प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । महिला, बालबालिका तथा लैङ्गिक र यौनिक अल्पसङ्ख्यक नागरिकको सुरक्षालाई पनि विशेष योजनामा समेटिएको प्रवक्ता काफ्लेले बताए ।


प्रतिक्रिया