क्यानडाको ब्राम्पटन सिटी काउन्सिलरमा नेपाली मूलकी गीता ढकालको उम्मेदवारी

क्यानडाको ब्राम्पटन सिटी काउन्सिलरमा नेपाली मूलकी गीता ढकालको उम्मेदवारी


ग्लोब नेपाल
0
Shares

टोरन्टो । क्यानडाको ओन्टारियो प्रान्तस्थित ब्राम्पटन नगरपालिकाको सिटी काउन्सिलर पदमा नेपाली मूलकी गीता डवाडी ढकालले उम्मेदवारी दिएकी छन् । उनले नगरपालिकाको वार्ड नम्बर ३ र ४ बाट नगर परिषद् सदस्यका लागि प्रतिस्पर्धा गर्न लागेकी हुन् ।

ढकालले सम्पत्ति करमा पारदर्शिता, आधारभूत पूर्वाधारको विकास, सार्वजनिक सुरक्षा, महिला सशक्तीकरण तथा ज्येष्ठ नागरिक र युवाका समस्या सम्बोधनलाई आफ्नो चुनावी एजेन्डा बनाएकी छन् । स्थानीय बासिन्दाका आवश्यकता र चासोलाई नगर परिषद्मा प्रतिनिधित्व गर्दै सुरक्षित, व्यवस्थित र समावेशी समुदाय निर्माणमा योगदान पुर्‍याउने उनको लक्ष्य छ ।

गोरखा जिल्लामा जन्मिएकी ढकाल सन् २०११ मे २१ मा परिवारसहित क्यानडा पुगेकी थिइन् । त्यसयता ब्राम्पटनमा बस्दै आएकी उनी शिक्षण, बालहेरचाह, घरजग्गा कारोबार र सामाजिक सेवामा संलग्न रहँदै आएकी छन् । नेपाली समुदायका नयाँ आप्रवासी, महिला र परिवारलाई सहयोग गर्दै आएकी उनले स्थानीय राजनीतिमार्फत समुदायका मुद्दा सम्बोधन गर्ने प्रयास थालेकी हुन् ।

गोरखामा शिक्षण, क्यानडामा व्यावसायिक यात्रा
ढकालको जन्म गोरखाको सिमसुङ गाविस–४ मा भएको हो । शिक्षक परिवारमा हुर्किएकी उनले हिमालय माध्यमिक विद्यालयबाट विद्यालय तहको शिक्षा पूरा गरेकी थिइन् । त्यसपछि गोरखा क्याम्पसमा अंग्रेजी र नेपाली विषय लिएर आईएड अध्ययन गरेकी उनले विवाह र पारिवारिक जिम्मेवारीका बीच स्नातक तहसमेत पूरा गरिन् ।

अध्ययनपछि शिक्षण पेसामा प्रवेश गरेकी उनले गोरखाका विभिन्न विद्यालयमा अध्यापन गराइन् । जनकल्याण माध्यमिक विद्यालयमा करिब छ–सात वर्ष अंग्रेजी विषय पढाएकी उनी पछि परिवारसँगै चितवन हुँदै काठमाडौं सरिन् । काठमाडौंको एक निजी विद्यालयमा समेत अध्यापन गरेपछि परिवारको भविष्य र छोराछोरीको शिक्षालाई ध्यानमा राख्दै क्यानडा जाने निर्णय गरेको उनले बताएकी छन्।

क्यानडा पुगेपछि उनले चाइल्ड केयर असिस्टेन्टसम्बन्धी अध्ययन पूरा गरी आवश्यक इजाजत लिइन् । त्यसपछि आफ्नै घरमा होम डे केयर सञ्चालन गरिन् । करिब तीन वर्ष उक्त सेवा सञ्चालन गरेपछि अन्य डे केयरमा पनि काम गरेर अनुभव हासिल गरिन् ।

पछि रियल इस्टेटसम्बन्धी इजाजत लिएर घरजग्गा कारोबारमा प्रवेश गरेकी उनी पछिल्ला दुई–तीन वर्षदेखि यस क्षेत्रमा सक्रिय रहेको बताउँछिन् । शिक्षण, बालहेरचाह र घरजग्गा कारोबारको अनुभवले स्थानीय परिवारका आवश्यकता तथा आर्थिक चुनौती बुझ्न सहयोग पुगेको उनको भनाइ छ ।