काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।
सुदूरपश्चिमको जितमा ब्रान्डन म्याकमुलनले सर्वाधिक ४३ रन बनाए । उनले २१ बलमा ६ चौका र २ छक्का प्रहार गरे । यस्तै, इशान पाण्डेले २९ बलमा २५ रन बनाए ।
आरिफ शेखले अविजित २० रन बनाउँदा शर्फेन रदरफोर्डले अविजित २१ रनको योगदान दिए । उनले १५ बलमा २ चौका र १ छक्का प्रहार गरे । कप्तान दीपेन्द्रसिंह ऐरी भने शून्य रनमा आउट भए ।
चितवनका बलर रञ्जितकुमारले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा २८ रन खर्चिए । यस्तै, रिजन ढकाल र मौसमी ढकालले समान १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो ।
चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रन बनाए । उनले ४० बलमा ३ चौका र २ छक्का प्रहार गरे । यस्तै, विवेक यादवले १५ बलमा १७ रन, डेविड मलानले १७ बलमा १६ रन, सिकन्दर राजाले २० बलमा १५ रन तथा अर्जुन साउदले १६ बलमा १५ रन बनाए ।
टम टेलर ६ रनमा अविजित रहे भने देव खनालले ७ रन बनाए । चितवनले अतिरिक्त ४ रन पाएको थियो । सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए । उनले ४ ओभरमा २६ रन खर्चिए । यस्तै, हेमन्त धामीले ४ ओभरमा २६ रन दिएर १ विकेट लिए । कप्तान दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले पनि समान १ विकेट लिए ।
यससँगै सुदूरपश्चिमले जारी प्रतियोगितामा दोस्रो जित निकालेको छ ।


प्रतिक्रिया