काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच हिजो मंगलबार साँझ भेटवार्ता भएको छ ।
भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेका थापाले करिब एक घण्टा उनीसँग छलफल गरेका हुन् । सरकारको कार्यशैली, पछिल्लो राजनीतिक परिस्थिति र मधेश प्रदेश सरकारको विषयमा दुई नेताबीच कुराकानी भएको बताइएको छ ।
सरकारले मुलुकलाई गलत दिशातर्फ लगिरहेको, शासन सञ्चालनमा सीमित व्यक्तिको प्रभाव बढेको र राज्यका निकायलाई स्वेच्छाचारी ढंगले चलाउन खोजिएको थापाको आरोप छ । कर्मचारी, व्यवसायी र सञ्चार क्षेत्रसमेत सरकारको कार्यशैलीबाट त्रसित बनेको उनको भनाइ थियो ।
आइतबार सानेपाबाट सरकारको आलोचना गरेका थापाले सोमबार पनि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेनलाई लक्षित गर्दै ‘तर्साउने धेरै आए, तर्सिने बानी परेको छैन’ भन्ने प्रतिक्रिया दिएका थिए ।
सरकारका गलत कदमविरुद्ध लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा उभिनुपर्ने उनको अडान छ । ओलीसँगको भेटमा पनि सरकारको कार्यशैली र त्यसबाट उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल भएको बताइएको छ । स्रोतका अनुसार सरकारका गलत कदमविरुद्ध दुवै दलले मिलेर प्रतिवाद गर्ने विषयमा समेत समझदारी बनेको छ ।
भेटमा मधेश प्रदेश सरकारको विषय पनि उठेको थियो । यद्यपि, दुई नेताबीच भएको छलफल र सम्भावित सहकार्यबारे औपचारिक रूपमा केही सार्वजनिक गरिएको छैन ।


प्रतिक्रिया