तिहारमा राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने

तिहारमा राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै सर्वसाधारणका लागि सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले बुधबार सूचना जारी गर्दै बबरमहलस्थित टक्सार महाशाखाबाट कात्तिक १९ र २० गते असर्फी तथा मेडालियन बिक्री गरिने जनाएको हो ।

दुवै दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म सर्वसाधारणले सुनको असर्फी र चाँदीका मेडालियन खरिद गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति २.५ ग्रामको एक थान सुनको असर्फी बिक्री गरिनेछ । त्यस्तै, १० ग्रामका लक्ष्मी र गणेश अंकित चाँदीका मेडालियन पनि उपलब्ध हुनेछन् । एक व्यक्तिले बढीमा दुई थानसम्म चाँदीका मेडालियन खरिद गर्न पाउनेछन् ।

असर्फी तथा मेडालियन खरिद गर्न इच्छुक नेपाली नागरिकले नागरिकता वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि अथवा ती कागजातको नम्बर उल्लेख भएको अन्य प्रमाणसहित स्वयं उपस्थित हुनुपर्नेछ । खरिदको भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

सुनको असर्फी र चाँदीका मेडालियनको मूल्य दैनिक रूपमा बिहान करिब ११ बजेपछि निर्धारण गरिनेछ। मूल्य निर्धारण भएपछि मात्रै बिक्री प्रक्रिया सुरु हुने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।