तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । महोत्तरीको सोनमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुससम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। उपलब्ध विवरणअनुसार विशेष अदालत, काठमाडौँले बुधबार यादवलाई दोषी ठहर गरेको हो।

उनीमाथि सडक ढलान योजनाको काम सम्पन्न भएपछि भुक्तानी दिने क्रममा सेवाग्राहीसँग ७२ हजार रुपैयाँ घुस लिएको अभियोग थियो। अदालतले उनलाई ६ महिना कैद, बिगो बराबरको जरीविना तोकेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले यादवलाई गत जेठमा महोत्तरीको औरही सडकबाट घुस रकमसहित नियन्त्रणमा लिएको थियो। एक उपभोक्ता समितिका अध्यक्षसँग रकम लिइसकेको अवस्थामा उनी पक्राउ परेका थिए।

अख्तियारका अनुसार सम्झौताबमोजिम सडक ढलानको काम सम्पन्न भइसके पनि यादवले भुक्तानी प्रक्रियामा विभिन्न बहाना बनाउँदै सेवाग्राहीलाई दुःख दिएका थिए। रकम माग गरिएको उजुरीपछि आयोगले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानबाट घुस लिएको प्रमाण फेला परेको दाबी गर्दै अख्तियारले गत असार ५ गते यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गत ७२ हजार रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवानाको मागदाबी गरेको थियो।

सिरहाको गोलबजार नगरपालिका-१२, सिमरा घर भएका यादव कल्याणपुर नगरपालिकाबाट सरुवा भएर सोनमा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पुगेका थिए। सरुवा भएर जिम्मेवारी सम्हालेको केही दिनमै उनी घुस रकमसहित पक्राउ परेका थिए।