काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा( संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारका कामकारबाहीलाई हिन्दी जासुसी सिनेमासँग तुलना गर्दै मुलुकमा कुन बेला कसलाई पक्राउ गरिने हो वा कसैमाथि हमला हुने हो भन्ने अनिश्चित अवस्था सिर्जना भएको टिप्पणी गरेका छन् ।
शनिबार काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारका गतिविधि हिन्दी जासुसी फिल्ममा देखाइने काल्पनिक घटनाजस्तै हुँदै गएको बताए ।
‘सरकारका कामकारबाही हेर्दा हिन्दी जासुसी फिल्म हेर्दा देख्नुभएको होला, हुँदै नहुने कामहरू भएको देखाउँछ नि त्यस्तै छ सरकारको कामकारबाही,’ उनले भने । सरकारको कार्यशैलीका कारण पत्रकार, कर्मचारी र राजनीतिक नेतृत्वसमेत असुरक्षित महसुस गर्नुपर्ने अवस्था बनेको उनको टिप्पणी थियो ।
‘कतिबेला कुन पत्रकार समाइने हो, कुनमाथि हमला हुने हो, कर्मचारीतन्त्रमाथि के हुने हो, नेतामाथि के हुने हो, कता के हुने हो भन्ने कुराको टुंगो केही पनि छैन,’ प्रचण्डले भने, ‘आफैं आफैं यस्तो अवस्था सिर्जना भएको छ ।’
उनले पुराना राजनीतिक दल र तिनका नेतृत्वमाथि नयाँ पुस्ता तथा वर्तमान सत्तापक्षबाट नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाए ।
गणतन्त्र स्थापना, पूर्वाधार विकास र ऊर्जा क्षेत्रमा भएका उपलब्धिको योगदानलाई अवमूल्यन गर्दै पुराना दलहरूलाई अपराधी र बदमासका रूपमा चित्रण गर्न खोजिएको उनको भनाइ थियो ।
‘तिनीहरू भन्छन् फेरि यो गणतन्त्र ल्याउने, पूर्वाधार बनाउने, ऊर्जा क्षेत्रमा क्रान्ति ल्याउनेहरूले केही पनि गरेनन्, यी बदमास हुन् अपराधी मात्रै हुन् भन्न खोजिन्छ,’ उनले भने । प्रचण्डले पुराना राजनीतिक दलहरूले गरेका योगदान र उपलब्धिको मूल्यांकन नगरी एकपक्षीय रूपमा नकारात्मक टिप्पणी गर्नु उचित नभएको बताए ।


प्रतिक्रिया