काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा १८ करोड रुपैयाँको आर्थिक लेनदेन भएको भनिएको विषय उठाउँदै निर्वाचन आयोगको निर्णयमाथि प्रश्न गरेका छन् । उनले पैसाको प्रभावमा पार्टीको आधिकारिकता निर्धारण गर्न खोजिएको आशङ्का व्यक्त गर्दै त्यसप्रति असन्तुष्टि जनाएका हुन् ।
शनिबार काठमाडौँको राष्ट्रिय सभागृहमा देउवा पक्षले आयोजना गरेको जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रहरी हिरासतमा रहेका इनम सापकोटाको भनिएको अडियोमा सार्वजनिक आर्थिक लेनदेनको प्रसङ्ग उठाएका हुन् ।
‘इनम सापकोटाले १८ करोड भनेको छ । बा, सानो पैसा हो त्यो ?’ देउवाले प्रश्न गरे, ‘त्यो पैसा दिएर पार्टी किनिदियो । अब पैसामा पार्टी बेच्ने हामीले ?’
उनले काँग्रेसको आधिकारिकतासम्बन्धी निर्णय गर्दा तत्कालीन प्रमुख निर्वाचन आयुक्तले आफ्नो ज्यानमा खतरा रहेको बताएको विषय सञ्चारमाध्यमबाट थाहा पाएको उल्लेख गरे । निर्वाचन आयोगमा आफूहरूले दिएको उजुरी र त्यसपछि भएको निर्णयप्रति असन्तुष्टि जनाउँदै देउवाले आयोगको भूमिकामाथि प्रश्न उठाए ।
तत्कालीन प्रमुख निर्वाचन आयुक्त र आयुक्त जानकी तुलाधरको प्रसङ्ग जोड्दै उनले भने, ‘तर, त्यो महिला चाहिँ नडराउने, ऊ डराउने कहीँ हुन्छ ? पैसाको लेनदेन छ पैसाको । थाहा भइहाल्यो नि । त्यसबाट स्पष्ट भयो नि त ।’
देउवाले आफ्नो नेतृत्वमा रहेको पार्टीको आधिकारिकता अर्को समूहलाई प्रदान गरिएको विषयमा कानुनी चुनौती दिएको बताए । आफू विदेशमा रहेका बेला विशेष महाधिवेशन आयोजना गरिएको उल्लेख गर्दै उनले उक्त प्रक्रियाको वैधानिकतामाथि प्रश्न उठाएका हुन् ।
‘म विदेश भएको समयमा यता विशेष महाधिवेशन भयो । अब पार्टी सभापति म छु, मलाई निकालेको पनि छैन, मैले महाधिवेशन गराएको पनि छैन,’ उनले भने, ‘त्यसै कारणले हामीले अदालतमा मुद्दा हालेका हौँ ।’


प्रतिक्रिया