वाणिज्य बैंकहरूमा बढ्दै खराब कर्जाको दबाब, प्रभु बैंकको १४.८० प्रतिशत पुग्यो

वाणिज्य बैंकहरूमा बढ्दै खराब कर्जाको दबाब, प्रभु बैंकको १४.८० प्रतिशत पुग्यो


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । मुलुकका वाणिज्य बैंकहरूमा निष्क्रिय अर्थात् खराब कर्जाको अनुपात बढ्दै गएको छ। चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार २० वाणिज्य बैंकको खराब कर्जा अनुपातको साधारण औसत ५.६४ प्रतिशत पुगेको हो।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको औसत खराब कर्जा अनुपात ४.८६ प्रतिशत थियो। एक वर्षको अवधिमा यस्तो अनुपात करिब ०.७८ प्रतिशत बिन्दुले बढेको छ। यसले बैंकहरूको कर्जा असुली तथा कर्जाको गुणस्तरमा दबाब कायम रहेको देखाउँछ।

सबैभन्दा बढी खराब कर्जा प्रभु बैंकमा देखिएको छ। गत वर्ष असोज मसान्तमा ५.७८ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा अनुपात यस वर्षको असोज मसान्तमा १४.८० प्रतिशत पुगेको छ। एक वर्षमा ९.०२ प्रतिशत बिन्दुले बढेको यो अनुपात अन्य वाणिज्य बैंकको तुलनामा निकै उच्च हो।

यद्यपि, प्रभु बैंकको खराब कर्जा अनुपात गत असार मसान्तको १५.५५ प्रतिशतबाट भने घटेको छ। यसले वार्षिक तुलनामा उल्लेख्य वृद्धि भए पनि पछिल्लो तीन महिनामा केही सुधार भएको देखाउँछ।

खराब कर्जा अनुपात उच्च हुने बैंकमध्ये एनआईसी एसिया दोस्रो स्थानमा छ। बैंकको यस्तो अनुपात गत वर्षको ६.९९ प्रतिशतबाट बढेर ९.८१ प्रतिशत पुगेको छ। त्यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ६.६३ प्रतिशतबाट ८.८७ प्रतिशत र कुमारी बैंकको ६.९८ प्रतिशतबाट ८.७२ प्रतिशत पुगेको छ।

हिमालयन बैंकको खराब कर्जा अनुपात ७.९८ प्रतिशत र प्राइम कमर्सियल बैंकको ७.१५ प्रतिशत रहेको छ। सिटिजन्स बैंकको ६.८० प्रतिशत र लक्ष्मी सनराइज बैंकको ५.५८ प्रतिशत खराब कर्जा देखिएको छ।

बैंकगत वित्तीय विवरणको तुलनात्मक अध्ययन गर्दा २० मध्ये १२ बैंकको खराब कर्जा अनुपात अघिल्लो वर्षको सोही अवधिभन्दा बढेको छ भने आठ बैंकको घटेको देखिन्छ। केही बैंकमा अनुपात सुधार भए पनि उच्च खराब कर्जा भएका बैंकको अवस्था समग्र बैंकिङ क्षेत्रका लागि चुनौतीका रूपमा रहेको छ।