सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनामा आफ्ना स्थानीय नागरिकको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको छ ।
गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवद्वारा जारी सूचनाअनुसार शुक्रबार गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवाबाहेकका नियमित सेवा, सामुदायिक तथा संस्थागत विद्यालयलगायत गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयमा एक दिनका लागि शोक बिदा दिइएको हो ।
शोक बिदाका दिन स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक स्वास्थ्य सेवा भने नियमित रूपमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । यसैगरी, दुर्घटनामा ज्यान गुमाएका प्रत्येक व्यक्तिका परिवारलाई गाउँपालिकाका तर्फबाट जनही ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णयसमेत गरिएको सूचनामा उल्लेख छ ।
मकवानपुरको भीमफेदीमा भएको उक्त दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका मात्रै १३ जनाको मृत्यु भएको थियो । जसमा एकै परिवारका आमा, ३ छोरी, २ भाइ गरी ६ जना र अर्को परिवारका श्रीमान्-श्रीमतीको मृत्यु भएको छ।
छठ पर्व मनाउन घर फर्किने क्रममा आफन्त गुमाएपछि सुन्दरपुर गाउँ शोकमा डुबेको छ । पर्वको तयारीमा जुटेका परिवारमा एकैपटक ठूलो दुःख आइपरेको छ ।


प्रतिक्रिया