गाजाको अस्पतालमा इजरायली हवाई आक्रमण, कम्तीमा ६ जनाको मृत्यु

गाजाको अस्पतालमा इजरायली हवाई आक्रमण, कम्तीमा ६ जनाको मृत्यु


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । गाजाको दक्षिणी क्षेत्र खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्सको शल्यक्रिया विभागमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन्।

प्यालेस्टिनी सुरक्षा तथा स्वास्थ्य स्रोतका अनुसार बिहीबार इजरायली विमानले अस्पताल परिसरको शल्यक्रिया विभाग रहेको दोस्रो तलामा कम्तीमा एउटा क्षेप्यास्त्र प्रहार गरेको थियो। आक्रमणबाट शल्यक्रिया विभागसहित आसपासका संरचनामा ठूलो क्षति पुगेको छ। मेडिकल कम्प्लेक्सका निर्देशक आतिफ अल–हौतले आक्रमणले भवनमा प्रत्यक्ष क्षति पुर्‍याएको र सघन उपचार कक्ष तथा शल्यक्रिया कक्षहरूमा समेत गम्भीर असर परेको बताए।

आक्रमणपछि आगो नियन्त्रणमा लिन र घाइते तथा प्रभावितको उद्धार गर्न नागरिक सुरक्षा टोली, उद्धारकर्मी र स्वास्थ्यकर्मी घटनास्थल पुगेका थिए। गाजाको नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बासलले उद्धार टोलीले घटनास्थलबाट छ जनाको शव निकालेको र २० जनाभन्दा बढी घाइतेलाई अस्पतालबाट बाहिर निकालिएको बताए ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । गाजाको स्वास्थ्य अधिकारीहरूले जारी गरेको विज्ञप्तिअनुसार मृत्यु हुनेमा स्वास्थ्यकर्मी, बिरामी र उनीहरूका कुरुवा रहेका छन्। स्वास्थ्य अधिकारीहरूले अस्पतालमाथिको आक्रमणलाई स्वास्थ्य प्रणालीमाथिको गम्भीर प्रहार र अन्तर्राष्ट्रिय कानुन तथा सन्धिको खुला उल्लङ्घन भन्दै निन्दा गरेका छन्। उनीहरूले अस्पताल, स्वास्थ्यकर्मी र बिरामीको सुरक्षा सुनिश्चित गर्न, यस्ता आक्रमण रोक्न तथा जिम्मेवार पक्षलाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघीय निकाय र मानवअधिकार संस्थाहरूलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेका छन्।

यसैबीच, इजरायली सेनाले विज्ञप्ति जारी गर्दै नासेर अस्पतालभित्र सक्रिय रहेका हमासका एक वरिष्ठ सदस्य तथा सैन्य समूहका अन्य सदस्यलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ। इजरायली सेनाका अनुसार हमासले अस्पताल परिसरमा आफ्नो उपस्थिति कायम गरी त्यसलाई इजरायली सैनिक र इजरायलविरुद्ध सैन्य तथा आतङ्कवादी गतिविधि सञ्चालन गर्ने कमान्ड केन्द्रका रूपमा प्रयोग गरिरहेको थियो।

तर हमासले इजरायली सेनाको आरोप अस्वीकार गरेको छ। अस्पतालजस्तो अन्तर्राष्ट्रिय कानुनद्वारा संरक्षित नागरिक स्वास्थ्य संस्थामाथि गरिएको आक्रमणलाई जायज ठहर्‍याउने प्रयास भन्दै हमासले त्यसको निन्दा गरेको छ। उसले घटनालाई नयाँ युद्ध अपराधको संज्ञा दिएको छ।