काठमाडौँ । लुम्बिनीसँग पराजित भएपछि विराटनगर किंग्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट बाहिरिएको छ । लुम्बिनीले विराटनगरलाई पराजित गरेपछि प्लेअफमा पुग्ने चारै टोलीको टुङ्गो लागेको छ ।
विराटनगर किंग्सले दिएको १६७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले चरित असलंकाको अर्धशतक मदतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो ।
यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको लुम्बिनीले लिग चरणमा ७ खेलबाट ११ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ र शीर्ष दुईमा रहने पक्का भएको हो । लुम्बिनी र सुदूरपश्चिमसँगै काठमान्डु गोर्खाज र चितवन राइनोजले पनि प्लेअफमा स्थान बनाएको हो ।
काठमान्डु ५ खेलबाट ८ अंकसहित तेस्रो र चितवन ६ खेलबाट ७ अंकसहित चौथो स्थानमा छ । लिग चरणको ७ वटै खेल खेलिसकेको विराटनगर भने यो हारपछि ६ अंकसहित पाँचौ स्थानमै सिमित रह्यो र लिग चरणबाट बाहिरियो । कर्णाली याक्स, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेका छन् ।


प्रतिक्रिया