काठमाडौँ । नेपाली कांग्रेसका नेताहरू राष्ट्रियसभाका उम्मेदवार चयनका लागि आन्तरिक छलफलमा जुटेका छन् ।
आइतबार बिहान बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा सहभागी भएर कांग्रेसले १० सिट लिने सहमति गरेपछि सभपति शेरबहादुर देउवासहित नेताहरू उम्मेदवार चयनका लागि आन्तरिक छलफलमा जुटेका हुन् ।
सभापति देउवाको निवास धुम्बाराहीमा नेता शेखर कोइरालासहित छलफल भएको हो । छलफलमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता रमेश लेखकलगायत छन् ।
कांग्रेस संस्थापनइतर समूहले कम्तीमा चार सिट आफूहरूले पाउनुपर्ने दाबी गरेको छ ।
कांग्रेसले आइतबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाए पनि नेताहरू आन्तरिक छलफलमा व्यस्त भएपछि बैठक सारिएको छ । अब बैठक आइतबार अपराह्न ४ बजे सानेपामा बस्ने गरी तय भएको केन्द्रीय कार्यालयले जनाएको छ ।


प्रतिक्रिया