माओवादीका दुई जना वैकल्पिक केन्द्रीय सदस्य निष्कासन

माओवादीका दुई जना वैकल्पिक केन्द्रीय सदस्य निष्कासन



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले दुई जना वैकल्पिक केन्द्रीय सदस्यलाई कारबाही गरेको छ । गत शनिबार बसेको स्थायी कमिटी बैठकले पार्टी विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा वैकल्पिक केन्द्रीय सदस्यहरू विरू तामाङ (सुदीप) र उमा विकलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो ।

यस्तै वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीलाई स्पष्टीकरण सोधेको माओवादीले जनाएको छ ।

भक्तपुरका तामाङ पछिल्लो समय मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगै हिँडेको भन्दै माओवादीले कारबाही गरेको हो । साथै कपिलवस्तुकी विक नेकपा (एमाले) मा प्रवेश गरेकी थिइन् ।

गोरखबहादुरले भने मंसिरमा भूकम्प प्रभावितका लागि राहत लिएर गएको चिनियाँ टोलीलाई जाजरकोटमा कुटपिट गरेको उजुरी आएकाले स्पष्टीकरण सोधिएको माओवादी केन्द्रले जनाएको छ ।

वैकल्पिक केन्द्रीय सदस्य नैन प्रसाद पहाडीले प्राविधिक कारण देखाइ दिएको राजीनामालाई स्वीकृत गर्ने निर्णय पनि माओवादी केन्द्रले गरेको छ ।