काठमाडाैं । पछिल्लो समय काठमाडौं महानगरपालिकामा करदाताको संख्या बढेको छ । गत आर्थिक वर्षमा तीन लाख २४ हजार एक सय २० करदाता रहेकामा चालु आर्थिक वर्षमा तीन लाख ४३ हजार तीन सय ४० पुगेको महानगरका राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए ।
उनका अनुसार ३५ हजार ५७ बहाल करदाता, ३१ हजार नौ सय १६ व्यवसाय करदाता र ५२ हजार चार सय ८६ सम्पत्ति करदाता रहेका छन् । अन्य शीर्षकमा पनि करदाता बढेका छन् । यसवर्ष करदाताको संख्या तीन लाख ४३ हजार तीन सय ४० पुगेको छ ।
‘गत आर्थिक वर्षको अन्त्यसम्ममा कर तिरेका करदाताको संख्यालाई चालु आवका लागि करदाताको संख्या मान्ने गरिएको छ’, काफ्लेले भने । उल्लेखित करदातामध्ये अहिलेसम्मा एक लाख ९१ हजार आठ सय ८६ कर तिर्नेको संख्या रहेको भन्दै एक लाख ३२ हजार दुई सय ३४ कर नतिर्ने रहेका उनले जानकारी दिए ।
करदाता बढेपछि महानगरमा उलेख्य रूपमा कर सङ्कलन भएको छ । चालु आवको अर्धवार्षिक अवधिमा करिब पाँच अर्ब राजस्व सङ्कलन भएको काफ्लेले जानकारी दिए ।
महानगर प्रमुख बालेन्द्र शाहले नेपालको संविधान २०७२ को अनुसूची ८ को क्रमसङ्ख्या ४, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ३ अनुसूची ३ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५७ को व्यवस्था बमोजिम बहाल कर सङ्कलन गर्ने पालिकाको मात्र अधिकार रहेको उल्लेख गर्दै यसअघि संघ सरकारबाट सङ्कलन हुँदै आएको यस शीर्षकको कर स्थानीय सरकारबाट उठाउने बताउँदै आएका छन् ।
महानगरले गत फागुन ३ मा ‘घरबहाल व्यवस्था निर्देशिका, २०७९’ जारी गरिसकेको छ । निर्देशिका अनुसार कुनै पनि घरधनीले घरभाडामा लगाउँदा वा घरखाली गराएको बारे सूचना सात दिनभित्र वडा कार्यलयमा दिनुपर्दछ । लिखित सम्झौताको एकप्रति सम्बन्धित वडा कार्यालय, एकप्रति घरधनी र अर्को एकप्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा व्यवस्था गरिएको छ ।
सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य र अभिवृद्धिसहित ३६ शीर्षकमा महानगरले राजस्व असुल गर्दै आएको छ । निर्देशिका जारी भएसँगै करदाता बढेको कामपाले जनाएको छ ।


प्रतिक्रिया