एनआरएनए निर्वाचनकाे विवाद छानबिन गर्न सरकारद्वारा समिति गठन

एनआरएनए निर्वाचनकाे विवाद छानबिन गर्न सरकारद्वारा समिति गठन



काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए)को निर्वाचन विवादको छानबिन गर्न एक समिति बनाएको छ । मन्त्रिपरिषद्को  मंगलबार बसेको बैठकले यस्ताे निर्णय गरेको हो ।

महान्यायाधिवक्ताको कार्यालयका सह-महान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उपसचिव (लेखा) सदस्य रहेको छानबिन समिति गठन गरिएको छ ।

समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देश गरिएको छ ।

एनआरएनएको अधिवेशनमा गत कात्तिक ३ मा सार्वजनिक मत परिणाममा धाँधली भएको भन्दै परराष्ट्र मन्त्रालयमा उजुरी परेको थियो । मत परिणाममा अपनाइएको प्रविधि त्रुटीपूर्ण रहेको भन्दै अध्यक्षका प्रत्यासी महेश श्रेष्ठ र आरके शर्माले मत परिणाम बहिष्कार गरेका थिए ।

अध्यक्षमा बद्री केसीले सबैभन्दा बढी मत पाएका थिए भने शर्मा दोस्रो र श्रेष्ठ तेस्रो स्थानमा रहेका थिए ।