राष्ट्रियसभा निर्वाचन : कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिममा मतगणना जारी

राष्ट्रियसभा निर्वाचन : कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिममा मतगणना जारी



काठमाडौं । सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मत गणना जारी छ । यी प्रदेशमा ३ बजे मत गणना सकिएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु भएको हो ।

बागमती प्रदेशको हेटौडामा मतदान सम्पन्न भएपलगत्तै मतगणना सुरु भएको हो । सांसद र स्थानीय प्रनिधिको छुट्टाछुट्टै मतगणना भइरहेको छ ।

लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनको मतगणना जारी छ । त्यहाँ प्रारम्भिक मतपरिणामसमेत आउन सुरु गरेको छ । पछिल्लो मतपरिणामअनुसार महिला कोटामा बिष्णुकुमारी सापकोटाले २,७५६ मत पाएकी छन् भने तुलसाकुमारी केसी १,५३७ मत पाएकी छन् ।

त्यसैगरी विजयालक्ष्मी सिह २१२ मत पाउदा अहिलेसम्म १०६ मतभार बदर भएको छ । त्यस्तै अन्य कोटामा झक्कु सुवेदी २७५६,झपेन्द्रबहादुर घर्ती क्षेत्री १६४३, र बाल गोविन्द चौधरीले २१२ मत पाएका छन् ।

कोशी प्रदेशका सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले मतगणना सुरु भएको दुई घन्टापछि कोशी प्रदेशबाट परिणाम आइसक्ने बताएका छन् । कोशीमा ३ जना स्थानीय तहका प्रतिनिधिबाहेक सबैले मतदान गरेका छन् ।

मतदान नगर्नेहरूमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार मतदानमा अनुपस्थित भए ।

यस्तै झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह निलम्बित छन् । उनलाई यसअघि नै भ्रष्टाचारको मुद्दा लागेको छ । प्रदेशसभामा रहेका ९३ जना नै प्रदेशसभा सांसदले मतदान गरेका छन् ।

कोशी प्रदेशमा अन्य १ जना र महिला १ जनाका लागि चार जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र माओवादीबाट चम्पा कार्की उम्मेदवार छन् भने एमाले–राप्रपा गठबन्धनबाट एमालेकी रुक्मिणी कोइराला र राप्रपाका उद्धव पौडेल उम्मेदवार छन् ।

सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतगणना सुरु भएको सहायक निर्वाचन अधिकृत प्रेम भट्टले जानकारी दिए ।

५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा एक जनाको निधन भएपछि अहिले ५२ जना छन् । उनीहरु सबैले मतदान गरेका छन् ।

त्यस्तै स्थानीय तहका १७६ जनप्रतिनिधिमध्ये एक जनाको निधन भएको थियो । १७५ जनामध्ये धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र भजनीका उपमेयर राजु तिरुवाले मतदान गरेनन् ।

यहाँ तीन पदका लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । मतगणनादगत्तै परिणाम सार्वजनिक हुने भट्टले बताए ।