लुम्बिनीलाई विश्वव्यापी बनाउनुपर्छ : बर्षमान पुन

लुम्बिनीलाई विश्वव्यापी बनाउनुपर्छ : बर्षमान पुन



भैरहवा । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व अर्थमन्त्री बर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले आइतबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । लुम्बिनी पुगेका नेताद्वोयलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले स्वागत गरेका थिए । उपाध्यक्ष लामाले कोषको उपाध्यक्षमा नियुक्त भएदेखि गरेका कामहरूको जानकारी गराउँदै लुम्बिनीको विकासका निम्ति गरेका पछिल्ला प्रयासहरू बारे जानकारी गराएका थिए ।

पूर्व अर्थमन्त्री समेत रहेका पुन र प्रतिनिधिसभाका पूर्वसभामुख घर्तीले मायादेवी मन्दिर अशोक स्तम्भ, पुष्करणी पोखरीको भ्रमण गरेका छन् । भ्रमणपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै पूर्व अर्थमन्त्री पुनले लुम्बिनीबाट विश्वशान्ति र सहअस्त्वितको सन्देश फैलाउन सकिने बताए ।

उनले नयाँ उपाध्यक्षका रुपमा डा. लामाको उपस्थितीले आशा जगाएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा संयुक्त राष्ट्र संघका महासचिव एन्टिरियो गुटरेसको भ्रमणपछि लुम्बिनीको अन्तर्राष्ट्रिय रुपमा प्रचार भएको उनको भनाइ थियो ।

पुनले लुम्बिनीको विश्वमाझ अझै प्रचार हुन नसकेको बताउँदै उपाध्यक्ष सहितको टिमले त्यसलाई केही रुपमा अघि बढाएको समाचार सुनेको बताए । ‘लुम्बिनी विश्वसामू चिनाउन सकिएकोे छैन। नयाँ उपाध्यक्षको कार्यकालमा विश्वसामू चिनाउन लाग्नुभएको छ, अझै लाग्नुहुनेछ,’ उनले भने ।

उनले बुद्धदर्शन शान्ति,मेलमिलाप र सहअस्तित्वको दर्शन रहेको बताउँदै गुटरेसले गरेको विश्व शान्तिको आह्वानको अर्थ रहेको बताए । उनले सबै धर्मका विच सहअस्तित्वमा बस्नुपर्छ भन्ने सन्देश लुम्बिनीबाट दिन सक्नुपर्ने बताए ।

पुन सहितको टोलीले लुम्बिनीमा हालै दैनिक एक लाखसम्म दियो बाल्न मिल्ने दियो स्थलमा दियो समेत बालेका थिए । त्यस्तै मोन्लम पुजामा समेत अवलोकन गरे । पुनसँगै पूर्वसभामुख ओनसरी घर्ती, लुम्बिनी प्रदेशका सांसद दिपेन्द्र पुनको समेत सहभागिता रहेका थिए ।

उक्त अवसरमा उपाध्यक्ष डा. लामासँगै योजना प्रमुख सरोज भट्टराई, कार्यकारिणी सदस्य श्याम रोक्काले पूर्वमन्त्री पुन सहितको टोलीलाई लुम्बिनीमा स्वागत गरेका थिए ।