सामाजिक सञ्जालमा भाइरल बनाउन खोजिएका दुईवटा फरक फरक विषय र दृश्यले गम्भीर ध्यानाकर्षण गरायो । पहिलोः कांग्रेस नेता एवम् कोइराला परिवारका उत्तराधिकारी डा. शेखर कोइराला आफ्ना बालसखालाई भेट्न उनकै निवासमा पुगेको सन्दर्भ र सञ्जालमा राखिएको तस्बिर । डा. कोइरालाका बाल्यकाल, स्कुलका साथी विलठ कामतलाई भेट्न उहाँकै निवासमा गएको र भेटघाट भएको तस्बिर सार्वजनिक गरिएको थियो । उक्त फोटोले डा. कोइरालाका मित्र विलठ कामतको जीवनमा कुनै परिवर्तन आएको देखिँदैन । उनको घर परिवार, अवस्था हेर्दा डा. कोइरालाले गरेको राजनीति कसका निम्ति ? भन्ने गम्भीर प्रश्न खडा भएको छ ।
मानिसको जीवनमा परिवर्तन ल्याउन गरिएको राजनीतिको विद्रुप रुप देखिन्थ्यो । हुनत उक्त तस्बिर लोकप्रियताको लागि राखिएको हो, तर त्यसले कोइरालालाई खिसी गरिरहेको थियो । आफ्नो बाल्यकाललाई अभिन्न मित्रको अवस्थामा त परिवर्तन ल्याउन नसक्नुले आम नागरिकको जीवनमा के बद्लाव आउँला ? कोइराला परिवारको उत्तराधिकारीले के यो कुरालाई गम्भीरतापूर्वक लिनुभएको होला ?
झन्डै साढे तीन दशक पूरा गर्न लागेको परिवर्तनको प्रतिफल कोइरालाका मित्र कामतले प्राप्त गर्न नसकेको तीतो यथार्थता उक्त तस्बिरले झल्काउँछ । साथसाथै प्रश्न पनि तेस्र्याएउँछ कि राजनीति केका लागि ? यो केवल शेखरसँगको प्रश्न मात्र होइन, राजनीति गर्ने हरेक तहका नेता कार्यकर्ताको अगाडि खडा भएको सशक्त प्रश्नचिह्न हो । यसको जवाफ नेपाली समाजले खोजिरहेको छ ।
जब मानिसको जीवनमा फेरबदल आउँछ, ऊ कठिनतम गरिबीको जीवन व्यतित गर्न बाध्य छ भनेपछि नागरिक तहबाट उठ्नुपर्ने आवाज कस्तो हुन्छ ? चारैतिर अन्याय, अत्याचार, बेइमानी र भ्रष्टाचार देखेको नागरिकको मनमा कस्तो सवाल–जवाफ होला ?
दोस्रो सन्दर्भ थियो– ‘ऊ पढेर पछुताएको छ, अर्को नपढेर पछुताएको छ, पढ्नेसँग बीस वर्षको शैक्षिक उपाधिको प्रमाणपत्र छ, नपढ्नेसँग बिस दिनमा बनाएको पासपोर्ट छ । पासपोर्ट लिने विदेश गएर पछुताएको छ, शैक्षिक उपाधि लिने विदेश नगएर पछुताएको छ । पासपोर्ट लिनेको काठमाडौंमा आफ्नै घर छ, शैक्षिक उपाधिवालाको काठमाडौंमा आफ्नै डेरा छ । पढ्ने पढेर पछुताएको छ, नपढ्ने पढ्न नपाएर पछुताएको छ । एउटा विदेश जानु परेर पछुताएको छ, अर्को विदेश जान नपाएर पछुताएको छ ।’
यस्तै आसयको अभिव्यक्तिले सञ्जाल रंगिएको थियो । विडम्बना ! हामी कस्तो अवस्थाबाट गुज्रिएका छौं । पढेर पछुताउनु पर्ने, विदेश नगएर पछुताउनु पर्ने, विदेश गएर पछुताउनुपर्ने । २० वर्षको शैक्षिक अभिलेख लिएर पछुताउनुपर्ने, २० दिन लगाएर पासपोर्ट बनाएर पछुताउनुपर्ने, काठमाडौंमा घर भएर र नभएर पछुताउनुपर्ने कस्तो नियति, कस्तो बाध्यता, कस्तो परिवर्तन, कस्तो राज्य व्यवस्था, कस्तो राजनीति, कस्तो वातावरण ?
संरचनात्मक सुधारमा गम्भीरता र चासो कसैलाई छैन । सानातिना लोकप्रियतावादी स्टन्ट गरेर देश बनेको इतिहास छैन । यसका निम्ति कठोर परिश्रम, संकल्प र दृढ इच्छाशक्तिको आवश्यकता पर्दछ ।
कांग्रेसको नाममा, कम्युनिष्टको नाममा, अन्य अन्यको नाममा मधेशको नाममा, राजाको नाममा, धर्मको नाममा, कस्का लागि कस्तो राजनीति, कस्का लागि ? हामीले आम जनतालाई यस्तै अनुभव अनुभूति, प्रक्रिया र परिणामका लागि परिवर्तनको बलिबेदीमा होमेका छौं ? डा. शेखर र उनका मित्र कामकै जस्तो आकास जमिनको बेमेल देखाउने तस्बिर सार्वजनिकका लागि ? कम्युनिष्टका नाममा पुष्पकमल दाहालले नातिनीको विवाह राजशी ठाँटमा गर्न गराउनका लागि वा देउवा, ओलीले त्यस्तै व्यवहार प्रस्तुति प्रस्तुत गर्नका निम्ति ? कसैलाई राजा र धर्मको राजनीति किन आवश्यक परेको, यस्तै प्रदर्शनी वा प्रहसनका लागि ?
एकजना जानकार मित्र भन्दै थिए– सुधार सम्भव कि असम्भव । वडा तहदेखि नै भागवण्डामा लगभग एउटै चरित्रका व्यक्तिहरुले फरक फरक दलको नाममा खानपिन गरिरहेका छन् । व्यवस्थाको रुपमा राजनीति फस्टाएको छ, आफ्ना नानीबाबुलाई विदेश पढाएर सिंहदरबारमा नीति नियम र निर्णय प्रक्रियामा दबदबा जमाएकाहरुले को प्रति उत्तरदायी भएर सुधारको जोखिम मोल्लान र ? भ्रष्टाचार गरेको रकम विदेशमा रहेको खातामा जम्मा हुने, त्यो नभए छोराछोरी र नातेदारहरु विदेशमा नै भएकोले उतै उनीहरुले मिलाउने, न्यायाधीश नियुक्तिमा समेत त्यस्तै चलखेल, व्यवहार र कारोबारसमेत भएको समाचार सार्वजनिक हुँदा सम्बन्धित सरोकारवालाहरुले जवाफदेही हुनु नपर्ने अवस्था नै हो भने सुधारको गुन्जायस होला र ?
आफ्ना छोराछोरीहरुको शिक्षादीक्षा, रोजगारी, स्वास्थ्य सुविधा आदि इत्यादि नेपालमा अनुकूल हुने नदेखेर विदेश पढाउने, राजनीतिक, कूटनीतिज्ञ, नीति निर्माता, विद्वान, विदूषी, प्राध्यापक, न्यायाधीश आदि इत्यादिले आशाको दियो जलाउन सक्छन् त ? कुनै समस्या आएमा भाग्ने दृढ अठोटका साथ विदेशको आवासीय सुविधा लिएका राजनीतिज्ञ, कूटनीतिज्ञ, उच्च पदस्थ कर्मचारीले सुधारको सुरुवात गर्छन् भन्ने कसरी पत्याउने ? भ्रष्टाचारीहरुले भ्रष्टाचार नियन्त्रण गर्छन् होला ?
दलालले सबै छोड्लान तर दलाली छोड्दैनन् । यस्तै व्यक्तिहरुको नियन्त्रणमा रहेको राज्य, व्यवस्थाले कामतको जीवनमा परिवर्तन ल्याउन सक्छ ? पछुताउने अवस्थामा फेरबदल आउन सक्छ त ? सम्बोधन गर्नुपर्ने विषयमा ध्यान निदए अनेकौं विषयान्तर गर्ने यात्रा रुचाउने र खाली आगामी निर्वाचनको रटान गर्नेहरुले निराश जनताको मनमस्तिकमा आशा जगाउन सक्लान ? घटनाक्रमहरु हेर्दा त्यस्तो कुनै सम्भावना देखिँदैन ।
विकृति, विसंगति, भ्रष्टाचार दिन प्रतिदिन बढ्दै गएको छ । प्रायः सरकारी कार्यालयमा सेवाग्राहीलाई ठग्ने, दुःख दिने, हैरानी गर्ने र अतिरिक्त रकम माग्ने काम तीब्र रुपमा चलेको छ । जिम्मेवारी वहन गर्नुपर्ने निकायहरुले जिम्मेवारी पूरा नगरेर अनुत्तरदायी व्यवहार गरिरहेका छन् । किन यस्तो भएको हो, यसमा विचार किन नपु¥याउने, किन ध्यान नदिनेभन्दा उनीहरुको जवाफमा आउँछ कि सकिदैन । चलुनजेन्लसम्म चल्छ, नभए ठीकै छ, जे हुन्छ, हुन्छ भन्ने गैरजिम्मेवार जवाफ पाइन्छ । यस्ता राजनीतिकर्मी, प्रशासक, जनप्रतिनिधिहरुबाट के अपेक्षा राख्ने ?
युवाहरुलाई विदेशमा पठाएर आफ्नो स्वार्थ पूरा गर्न गराउन सजिलो भएको महसुस गर्नेहरुले देश निर्माणको अठोट र संकल्प अनुरुप काम गर्छन् भन्ने नै लाग्दैन । असफल राज्य बनाउने योजनामा काम भएको देखिन्छ । विश्वविद्यालय बिगार्ने, सार्वजनिक शिक्षा धरासायी बनाउने, स्वास्थ्य क्षेत्रमा व्यापारिकको जिम्मा लगाउने, उद्योग धन्दा, कलकारखाना बन्द गर्नुपर्ने अवस्थामा पु-याउने, खरिद बिक्री लेनदेन र कारोबारका आधारमा सार्वजनिक पदाधिकारी नियुक्त गर्ने, त्यसका निम्ति तयार हुने प्रवृत्ति आशा जगाउने होइन ।
संरचनात्मक सुधारमा गम्भीरता र चासो कसैलाई छैन । सानातिना लोकप्रियतावादी स्टन्ट गरेर देश बनेको इतिहास छैन । यसका निम्ति कठोर परिश्रम, संकल्प र दृढ इच्छाशक्तिको आवश्यकता पर्दछ । सत्ता चलाउनु र फेरबदल गर्नु नै राजनीतिको मूल ध्येय र त्यसलाई प्रवद्र्धन गर्न हुने अनियमितता र भ्रष्टाचारले समग्र शासन व्यवस्थालाई नै जकडेको छ । राज्य व्यवस्थामा देखिएको तमाम विकृति र विसंगतिको सघन शल्यक्रियाले मात्र आशा गराउन सक्छ । त्यसको लागि कुशल, सक्षम, योग्य, सहासी, कठोर र दृढ निश्चयी सर्जनको आवश्यकता पर्दछ । त्यस्तो सर्जन (नेता) देशले खोजिरहेको छ, अहिले दृश्यमा देखिएकाहरुमा त्यो स्तरको भार व्यहोर्ने, बहन गर्ने व्यक्तित्व खड्किरहेको छ ।
प्रतिक्रिया