काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले सरकारमा हुनेहरुलाई सत्ता कसरी टिकाउने भन्दा बाहेकको चिन्ता नभएको टिप्पणी गरेका छन् ।
मंगलबार काठमाडौंमा ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक विचार गोष्ठीमा बोल्दै उनले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री फेर्ने बाहेकको काम गर्न नसक्ने बताएका छन् । विकास सम्भव नभएकाले झूटो कुरा गर्न नहुने तर्क गरे । उनले कांग्रेस अन्तिममा सत्ता कुरेर बसेको भन्दै माधव नेपालले धोखा दिए पनि गोलमाल हुने बताए ।
उनले भने, ‘प्रचण्डजीलाई मेरो पार्टीको सभापति रिसाउनुभएको भने उहाँको सत्ता धरापमा पर्छ । सीधै बालकोट दौडिनुपर्छ । उहाँले हुन्न भन्नुभयो भने के गर्ने बालकोटमा ? चिन्ता त्योबाहेक केही छैन । हामी त झन् सरकारमा अन्तिम पालो कुरेर बसेका हौं । अहिले मात्रै होइन माधवजीले धोखा दिनुभयो भने पनि हाम्रो त गोलमाल हुन्छ । अनि चिन्ता केको गर्ने ? कहाँको विकासको चिन्ता गर्ने ? सम्भव छैन झूटा कुरा नगरौं, आफ्नो सत्ताको टुंगो छैन । आज बेलुका सुत्दा भोलि बिहान उठ्दा रहन्छ कि रहँदैन टुंगो छैन ।’
उनले जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल हो भनेर नारा लगाएर चुनाव जितेका पार्टीहरूबाट धेरै आशा गर्न नसकिने बताए । उनले अहिलेको गठबन्धनले ५ वर्षका लागि सम्झौता भएको भन्दै नेकपा एमालेले फकाउन नसके प्रधानमन्त्री फेर्नु बाहेकको नयाँ काम हुन नसक्ने जिकिर गरे । उनले गठबन्धनका शीर्ष नेताले सत्ता बाहेक बाँकी सत्य नदेखेको बताए ।
नेता रिजालले निर्वाचन प्रणाली बदल्नै पर्ने आवश्यकता रहेको बताए ।


प्रतिक्रिया