रौतहट । नेकपा एमाले रौतहटको १०औं जिल्ला अधिवेशनको बन्द सत्र स्थगित भएको छ । जिल्ला सदस्यदेखि पदाधिकारीसम्म सर्वसम्मतको प्रयास गरिए पनि सर्वसम्मत हुन नसकेपछि अबेर साँझ बन्दसत्र स्थगित गरिएको हो ।
कुनै पनि पदमा सर्वसम्मत हुन नसकेपछि बन्दसत्र आजका लागि स्थगित गरिएको बताइएको छ । आज स्थगित भएको बन्दसत्र भोलि शनिबार बिहान ८ बजेबाट गरुडास्थित एएन प्लाजा होटलमा पुन सुरु हुने नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मीले जानकारी दिए ।
भोलि शनिबार सर्वसम्मतको प्रयास गरिने र नभएको खण्डमा निर्वाचनद्वारा नेतृत्व चयनको प्रयास गरिने केन्द्रीय सदस्य रेग्मीले बताए । शनिबार बिहान ८ बजेबाट पुन: बन्दसत्र सुरु हुने जनाइएको छ ।
नेकपा एमाले रौतहटको अध्यक्षका आकांक्षी तीन जना रहेका छन् । अखिलेश्वर चौधरी, रुपेश कुमार पटेल र सचिदा नन्द शाह जिल्ला अध्यक्षका आकांक्षी हुन् । नेतृत्वले सर्वसम्मतको प्रयास गरे पनि रौतहटमा सर्वसम्मत लगभग नहुने देखिएको एक जना एमालेका नेताले बताएका छन् । शनिबार मतदानबाटै जिल्ला अध्यक्षलगायत पदाधिकारीहरूको चयन हुने बताइएको छ ।


प्रतिक्रिया