नेपालले नामिबियालाई दियो १३३ रनको लक्ष्य

नेपालले नामिबियालाई दियो १३३ रनको लक्ष्य



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो पहिलो खेलमा नेपालले जितका लागि नामिबियालाई १३३ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१.५ ओभरमा १३२ रन बनाउँदै अल आउट भयो ।

नेपाली ब्याटिङमा भीम सार्कीले सर्वाधिक ४४ रन बनाए । भीमले ८६ बलमा दुई चौका र एक छक्का प्रहार गरे ।

२१–४ को नाजुक स्थितिबाट भीमले पाँचौँ विकेटका लागि कुशल मल्लसँग ४६ रनको साझेदारी गर्दै नेपाली टिमको इनिङ सम्हालेका थिए । कुशलले २२ बलमा एक चौका र एक छक्कासहित १५ रन थपे ।

यसबाहेक, गुल्सन झाले ३१ बलमा तीन चौकासहित २१ रन बनाए । पवन सर्राफले २२ बलमा एक छक्कासहित १२ रन थपे । करण केसीले ३८ बलमा तीन चौकासहित १६ रन बनाए ।

अन्य ब्याटरले भने दोहोरो अंकमा रन लिन सकेनन् । अनिल साहले आठ, आसिफ सेखले चार, सोमपाल कामीले दुई र कप्तान रोहितकुमार पौडेलले एक रन थपे । नेपालका ओपनर कुशल भुर्तेलले ‘रोयल डक’ भएका थिए ।

नेपाललाई सस्तैमा समेट्न नामिबियाका गेरहार्ड इरास्मसले पाँच विकेट लिए । ८.१ ओभर बलिङ गरेका इरास्मसले २८ रनमात्र खर्चिए । रुबेन ट्रम्पेलमेन र ज्याक ब्रासेलले समान दुई विकेट लिए । यस्तै, जान निकोल लोफ्टी–इटोनको नाममा एक विकेट रह्यो ।

आजबाट सुरु भएको त्रिदेशीय शृंखलामा नेपाल र नामिबियासँगै नेदरल्यान्ड्स सहभागी छन् ।