काठमाडौं । राष्ट्रिय सभाका अध्यक्षको कार्यकाल यही फागुन २० गते सकिंदैछ । अध्यक्षको कार्यकाल सकिने मिति नजिकिदै गर्दा अबको अध्यक्ष कुन पार्टीको र को हुने भन्ने विषय यसबेला चर्चामा छ ।
आफ्नो छ बर्षे कार्यकाल पूरा गरी राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना फागुन २० गते बाहिरिदै हुनुहुन्छ । त्यसअघि नै दलहरु राष्ट्रिय सभाको अध्यक्ष कुन दलबाट कसलाइ बनाउने भन्ने विषयमा छलफल गरिरहेका छन् । राष्ट्रिय सभामा ठूलो दल नेकपा माओवादी केन्द्र र मुलुकको ठूलो दल नेपाली कांग्रेसले अध्यक्षमा आ-आफ्नो दाबी प्रस्तुत गरेका छन् ।
सत्ता गठबन्धनमा रहेका दलहरुले आ-आफ्नै दलले अध्यक्ष पाउनुपर्ने दाबी गरिरहेका छन् । राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल माओवादी केन्द्रको बुधबार बसेको स्थायी समितिको बैठकले त आउँदो निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने निर्णयसमेत गरेको छ ।
चार बर्षपछि आउने आम निर्वाचन मात्र होइन नजिकिँदै गरेको राष्ट्रियसभाको अध्यक्षको निर्वाचनमा पनि माओवादी केन्द्रले कसैसँग गठबन्धन नगरी उम्मेदवारी दिने निर्णय गरेको छ ।
कोशी प्रदेशको राष्ट्रिय सभाको निर्वाचनबाट देखिएको असन्तुष्टि बुधवारको माओवादी स्थायी समितिको बैठकबाट बाहिर आएको हो । अन्य दलहरुले निर्णय गरिनसकेको भए पनि नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायतले समेत दाबी प्रस्तुत गरिरहेका छन् ।
सत्ता गठबन्धनमा रहेका दलहरुले सहमतिको आधारमा राष्ट्रिय सभा अध्यक्ष चयन गर्ने यसअघि अनौपचारिक सहमति गरेका थिए । नेपाली कांग्रेसले भने अहिले दलहरुले आ-आफ्ना उम्मेद्वार अघि सारे पनि सहमतिका आधारमा गठबन्धनमा रहेका दलहरुले उमेद्वार तय गर्ने जनाएको छ ।
जम्मा ५९ सदस्य राष्ट्रिय सभामा फागुन २० गतेदेखि २० जना सदस्यहरु बाहिरिदै छन् । त्यस्तै सातै प्रदेशबाट १९ जना सदस्यहरु निर्वाचित भएर राष्ट्रिय सभामा जाने तयारी अवस्थामा बसेका छन् ।
नेपाली कांग्रेसबाट १०, माओवादी केन्द्रबाट पाँच, एकीकृत समाजवादीका दुई, जसपाका एक, नेकपा एमालेका एक जना नयाँ सदस्य निर्वाचित भएका छन् । पुराना २० जना बाहिरिएपछि बन्ने राष्ट्रिय सभाको संरचनामा नेकपा माओवादी केन्द्र १७ सदस्यसहित सवै भन्दा ठूलो पार्टी बन्दैछ ।
त्यसपछि नेपाली काग्रेसका १६, नेकपा एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३, लोसपाका १, राष्ट्रिय जनमोर्चाका १ जना सदस्य रहेका छन् । राष्ट्रिय सभाका अध्यक्षसँगै दुइवटा समितिका सभापति नयाँ चयन गर्नुपर्ने छ ।


प्रतिक्रिया