सरकार निरन्तर जान्छ र अर्थतन्त्रको विकास गर्छ : सभापति देउवा

सरकार निरन्तर जान्छ र अर्थतन्त्रको विकास गर्छ : सभापति देउवा



चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन सरकारको निरन्तरता कायम रहने बताएका छन् ।

भरतपुर महानगरको भ्रमण वर्ष उद्घाटन कार्यक्रममा बोल्दै उनले गठबन्धन सरकार कायम रहने र आगामी पर्यटन विकास यही सरकारले गर्ने बताए । ‘गठबन्धन सरकारको निरन्तरता कायम रहन्छ, उनले भने, ‘यो सरकार पूर्ण रुपमा जान्छ र अर्थतन्त्रको विकासमा यो सरकारले काम गर्छ ।’

महानगरको पर्यटन वर्ष उद्घाटनको कार्यक्रममा चार पूर्व प्रधानमन्त्रीले राजनीतिक कुरा नबोलेपनि देउवाले भने गठबन्धन सरकार निरन्तर अघि बढ्ने बताए । उनले पर्यटन र अर्थतन्त्र सुधारको काममा सरकारले पूर्णरुपमा काम गर्ने प्रतिवद्दता कार्यक्रममा नै जनाएका थिए ।

सरकारले निजी क्षेत्रको विकास गर्दैपर्यटन विकास गर्ने पनि बताएका थिए । उनले मुलुकको पर्यटन प्रवर्द्धनका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताए ।

नेपालको नीति तीनखम्बे अर्थनीति भएकाले पर्यटन प्रवर्द्धनमा सङ्घ, प्रदेश, स्थानीय तहका साथै सरोकारवाला निकायको एकआपसमा सहकार्य आवश्यक रहेको सभापति देउवाले बताए । कोरोनाका कारण नेपालको अर्थतन्त्रमा परेको असर पर्यटन क्षेत्रको चलायमान अवस्थाले परिपूर्ति गर्दै जाने उनको भनाइ छ ।

“भरतपुर भ्रमण वर्षले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारसँगै पर्यटक वद्धि गरी मुलुकको आर्थिक विकासमा सहयोग पुर्‍याउनेछ”, सभापति देउवाले भने ।

सभापति देउवाले भरतपुर देशकै प्रमुख पर्यटकीय गन्तव्य भएको भन्दै महानगरपालिकामा पर्यटकीय विकासका लागि प्रयाप्त पूर्वाधार रहेको बताए । “जैविक विविधता, पर्या–पर्यटन, वन्यजन्तुसम्बन्धी खेल, स्वास्थ्य, कृषि, पर्यटनको विकासलगायत विषयले भरतपर मुलुकको प्रमुख आर्थिक केन्द्रका रुपमा स्थापित भएको छ”, उनले भने ।