काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न देउवा अध्यक्ष नेपालको निवास कोटेश्वरमा पुगेका हुन् ।
राजनीतिक समीकरण बदलिएको बेलामा सभापति देउवा र नेपालबीचको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ । हिजो राति प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल निवासमा पुगेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।
नेकपा एकीकृत समाजवादीले नयाँ गठबन्धनको सरकारमा सहभागिता हुने/नहुने विषयलाई टुङ्गो लगाउन आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा बुधबार बिहान ११ बजे बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमलगायत विविध विषयमा छलफल हुने पार्टीको केन्द्रीय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।
पुरानो सत्ता गठबन्धन भत्किएर नयाँ समीकरणको विकास भएपछि नेपका (माओवादी केन्द्र ) र नेकपा (एमाले) ले एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेको छ । बैठकमा पार्टीले सत्ता समीकरणको उद्देश्य, निर्णय र प्रक्रियाबारे जानकारी लिने र दृष्टिकोण तय गर्ने सचिव श्रेष्ठले बताए ।


प्रतिक्रिया