काठमाडौं । मैत्रीपूर्ण टी–२० आई क्रिकेटमा हङकङविरुद्धको खेलमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको छ । हङकङले प्रस्तुत गरेको २ सय १३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र १६.४ ओभरमा १ सय ३९ मात्र बनाउन सक्यो ।
नेपाललाई सस्तोमा समेट्न एइजाज खानले घातक बलिङ गर्दै ४ विकेट लिएका थिए । उनलाई एहसान खानले ३ विकेट लिँदै साथ दिएका थिए । अतिक इकबाल र नसरुल्लाह रानाले १–१ विकेट लिन सफल भएका थिए ।
नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ४२ रन बनाएका थिए । उनले २२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्न सफल भएका थिए । कप्तान रोहित पौडेलले ३० तथा आरिफ शेखले ३८ रनको योगदान बनाएका थिए ।
३ विकेटको क्षतिमा ११७ रनको बलियो अवस्थामा रहेको नेपालले २२ रनमा बाँकी ७ विकेट गुमायो । टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो ।
बाबर हायातले शतक बनाउँदै टोली विशाल लक्ष्य खडा गर्न महत्त्वपूर्ण योगदान दिए । अन्तिम ओभरमा आकाश चन्दको बलमा आउट हुन अघि उनले मात्र ४९ बलमा ११० रन बनाएका थिए । उनले यसक्रममा ३ चौका र १३ छक्का प्रहार गरे ।
एइजाज खानले नटआउट रहँदै ११ बलमा २१ रन बनाए । यसअघि कप्तान तथा ओपनर निजाकत खान तेस्रो ओभरमा शून्य रन बनाउँदा आरिफ शेखको शिकार बने । अर्का ओपनर मार्टिन कोटजीले आक्रामक ब्याटिङ गर्दै २१ बलमा ३१ रन बनाए ।
आकाश चन्दको बलमा आउट हुनअघि उनले ५ चौका र १ छक्का प्रहार गरेका थिए । अन्सी राथले ३२ बलमा ३९ रन बनाउँदै प्रतिश जिसीको बलमा आउट भएका थिए । उनले ३ चौका र २ छक्का प्रहार गर्न सफल भएका थिए ।
विकेट किपर रासिद खानको बलमा शून्य रनमा आउट भएका थिए । नेपालका लागि आकाश चन्दले ३ तथा आरिफ शेख, प्रतिश जिसी र रासिद खानले १–१ विकेट लिए । त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको छ ।
नेपाल, हङकङ र पपुवा न्युगिनीबिच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज सुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसँग एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्ने छ । यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ ।
प्रतिक्रिया