गैरआवासीय नेपाली युवाको लगानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण

गैरआवासीय नेपाली युवाको लगानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण


ग्लोब नेपाल
54
Shares

बुटवल । गैर आवासीय नेपाली युवाको लगानीमा रुपन्देहीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गरिएको छ । अष्ट्रेलियामा आफूले गरेको कमाइबाट गुल्मीका विनोद कुँवरले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान निर्माण गरेका हुन् ।

उनले पहिलो चरणको संरचना फागुन २८ गते उद्घाटन गरेर खेल सञ्चालन गर्ने तयारी गरेको बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

गएको जेठ ३० गते शिलान्यास गरिएको उक्त रंगशालामा उद्घाटनको दिन लिजेण्ड्स कप क्रिकेट आयोजना गर्ने तयारी रहेको एक्स्ट्राटेक ओभलका निर्देशक कुँवरले जानकारी दिए ।

श्रीमती सदीक्षासहित अष्ट्रेलियामा बस्दै आएका कुँवरले तिलोत्तमा नगरपालिका वडा नं १७ मा ४० करोड रूपैयाँभन्दा बढी लगानीमा रंगशाला निर्माण गरेको र खेल्न तयार भए पनि अझै भौतिक निर्माण बाँकी रहेको बताए ।

मैदान उद्घाटनको दिन चार टोलीबीच तिलोत्तमा एक्स्ट्राटेक लेजेण्ड्स कप क्रिकेट प्रतियोगिता हुने कार्यक्रम छ । प्रतियोगितामा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी-२० विश्वकप खेलेको टोली, रूपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपाल गरेर ४ टोलीले सहभागिता जनाउने छ ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सन् २०१४ टोलीको कप्तानी गर्नेछन् । सन् १९९६ को कप्तानी एलबी क्षेत्रीले गर्दा रेस्ट अफ नेपालको टीमलाई कलाम अली तथा रुपन्देही लेजेन्ड्सलाई हरिबहादुर थापाले कप्तानी गर्नेछन् ।

निर्माणाधीन क्रिकेट रंगशालामा होस्टलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर पनि हुनेछ । एकेडेमी र सेन्टरको जिम्मेवारी नेपालका पूर्वक्रिकेट खेलाडी तथा एक्स्ट्राटेक ओभल क्रिकेट मैदानका ब्रान्ड एम्बेसडर शक्ति गौचनलाई दिइएको छ ।

रंगशाला कम्पाउन्डमा एकेडेमीको चार तले भवन बन्नेछ, जसमा १०० जनालाई आवासीय प्रशिक्षण दिइने बताइएको छ । करिब २५ हजार दर्शक क्षमताको रङ्गशालासहित एकेडमी भवन बनाउने र राम्रा खेलाडी उत्पादन गर्ने कुँवरको लक्ष्य छ ।