१० लाखका दरले पैसा बाँड्ने प्रस्ताव अस्वीकार गरेको हुँ : प्रवक्ता महत

१० लाखका दरले पैसा बाँड्ने प्रस्ताव अस्वीकार गरेको हुँ : प्रवक्ता महत



काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकशशरण महतले २० वर्षअघिको शान्ति सम्झौताअनुरुप १० लाखका दरले आर्थिक सहायता बाँड्ने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको बताएका छन् ।

डा. महतले मंगलबार पार्टी कार्यालय, सानेपामा पत्रकार सम्मेलन गरेर बजेट बाँड्ने प्रस्ताव अस्वीकार गरेको खुलाएका हु्न् । “२० वर्ष अघिको शान्ति प्रक्रिया अनुरुप घाइते र सहिद परिवारलाई आर्थिक सहायता बाँड्ने प्रस्ताव आयो मैले अस्वीकार गरेँ,” डा. महतले भने, “त्यसबेला प्रधानमन्त्री सहमत हुनुभएको हो । तर, त्यही कुरालाई लिएर हुनसक्छ, उहाँले असन्तुष्टि सार्वजनिक गर्र्नुभएको छ ।”

उनले आफू सरकारमा हुँदा प्रधानमन्त्रीले कुनै लिष्ट नदेखाएको भन्दै आफू सरकारबाट बाहिरएपछि करिब २६ सयको लिष्ट सार्वजनिक भएको बताए । “लिष्ट बनाएर १०/१० लाख बाँड्ने कुरा आयो त्यसलाई मान्न सक्ने अवस्था थिएन,” डा. महतले भने ।

आफूले अर्थ मन्त्रालयको जिम्मेवारी लिँदा आर्थिक सूचकांकको अवस्था के थियो र अहिले के छ भन्ने तथ्यांक प्रस्तुत गर्दै उनले शिथिल अर्थतन्त्रलाई लयमा फर्काएको दाबी गरे ।

आर्थिक सुशासन र मितव्ययितालाई प्राथमिकतामा राखेर आफूले सजगताका साथ काम गरेको भन्दै डा. महतले भने, ‘आर्थिक सहायता जथाभावी बाँड्नुभएन । गर्नैपर्ने बाहेकका आर्थिक सहायता दिनु हुँदैन भन्ने मान्यता मैले राखेँ ।’

सरकारले जति उपलब्धि हासिल गरेको हो, त्यो कांग्रेसकै कारण सम्भव भएको उनले दाबी गरे । उनले अगाडि भने, ‘अर्थतन्त्र सुधारको प्रयासलाई आगाडि बजेटमा अझ गति दिने योजना थियो । यदि यो बाटो छोडेर हाम्रो साधन र स्रोतलाई जथाभावी खर्च गर्ने हो भने हामी अठ्यारोमा पर्ने निश्चित छ ।’

डा. महतले दाहालले कांग्रेस महासमिति बैठकमा प्रस्तुत प्रस्ताव र कोसी प्रदेशका बहानामा धोका दिएको आरोप लगाए ।

उनले भने, ‘प्रचण्डले नेपाली कांग्रेससँगको सहकार्य, जनतासामु गरेको प्रतिबद्धता र जनताले दिएको म्यान्डेट लत्त्याउनुभएको छ । कांग्रेसले केन्द्रीय कार्यसमिति र कार्यसम्पादन बैठक गरेर प्रचण्डमाथि विश्वासघात र बेइमानीको संज्ञा दिइसकेका छौँ । प्रधानमन्त्रीजीले सदनमा बोल्दा कांग्रेसले घात गरेको कारण सत्ता फेरबदल गर्नुपरेको बताएका छन् । यो सबै कपोलकल्पित र झुटो हो ।’

प्रधानमन्त्री प्रचण्डले २०७९ सालको आम निर्वाचनपछि मात्र तीन पटक सत्ता सहकार्य फेरेको भन्दै महतले प्रचण्डको प्रवृत्ति भएको उल्लेख गरे ।