काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेलेले देशको अर्थतन्त्रमा सुधार नभएको दाबी गरेका छन् । प्रतिनिधिसभामा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफलको क्रममा उनले पुनर्लेखन गर्न सुझाव दिए ।
उनले निवर्तमान अर्थमन्त्री प्रकाश शरण महतले समस्या चिनेको र समाधान दिन सक्ने सिद्धान्त र प्राथमिकता नल्याएको हुनले यसलाई पुनर्लेखन गरेर समस्या चिन्न सक्ने र समाधान दिन सक्ने अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने आर्थिक मन्दीबाट मुलुकलाई बाहिर निकाल्न सक्ने गरी पुनर्लेखन गर्नुपर्ने बताए ।
अर्थतन्त्र लगातार मन्दी र संकटमा रहे पनि तत्कालीन अर्थमन्त्री राम्रो हुँदै छ भनेको कुरामा सत्यता नभएको उनको भनाइ छ ।
रास्वपाका नेता एवम् प्रतिनिधिसभा सदस्य डा.स्वर्णिम वाग्लेले सांसद्हरुको माग र सरकारको अग्रसरतामा यसअघिको प्रवृत्ति करेक्सन गर्दै अध्यादेशमार्फत भए पनि विनियोजन विधेयकसम्बन्धी व्यवस्था परिमार्जन गरी बजेटको सिद्धान्त तथा प्राथमिकता तीन महिना अघि नै छलफलका लागि संसद्ले पाउनु खुसीको कुरा भए पनि विनियोजन विधेयकले नयाँ प्रणालीको विकास गर्न नसक्दा दुःख लागेको बताए ।
विनियोजन विधेयकले आर्थिक सुधार, विकास गतिविधिलाई प्रभावकारी र जिम्मेवार बन्ने गरी लक्ष्य लिने कुनै गुन्जायस नदेखिएको उनले बताए । तथापि, विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता फिर्ता गर्ने वा पुनर्लेखन गर्ने भन्दा पनि यसैलाई निरन्तरता दिएर बजेटमा सुधार गर्न उनले सुझाव दिए ।
यस्तै, पूर्वअर्थमन्त्री एवम् प्रतिनिधि सभाका सांसद जनार्दन शर्माले विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकताले विश्व आर्थिक परिदृश्यलाई ध्यान दिन नसकेको बताएका छन् ।
छलफलमा बोल्दै सांसद शर्माले पछिल्लो पटक विश्वका शक्ति राष्ट्र रुस र युक्रेन, अन्य देशहरूबिचको बढ्दो टकराब र युद्धले निम्त्याउन सक्ने आर्थिक संकटलाई नेपालले आंकलन गर्न नसकेको बताए ।
विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकताले गत कात्तिकमा पश्चिम नेपालमा गएको भूकम्पले बनाएको तहसनहस भौतिक पूर्वाधार आवासको पुनर्निर्माणको सन्दर्भमा समेत सरकारले ध्यान दिन नसकेको उनले बताए ।
प्रतिक्रिया