काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आफूविरुद्ध लागेका मुद्दामा चलखेल नगर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएका छन् ।
बिहीबार संसद भवन परिसरमा सञ्चरकर्मीहरूसँग कुरा गर्दै उनले राज्य व्यवस्था समितिमा छलफल गर्दा गृहमन्त्रीले वर्तमान परराष्ट्रमन्त्रीलाई आफूसँग अरु पनि प्रमाण भएको बताएकाले कारबाही गर्ने ठाउँमा हुँदा कारबाही गरेर देखाउन सक्नुपर्ने बताएका हुन् ।
उनले गलतलाई कारबाही गर्नुपर्ने र निर्दोषलाई फसाउन नहुनेतर्फ गृहमन्त्री लाग्नुपर्ने भन्दै आफूविरुद्धका मुद्दाका बारेमा आफैँले सांसदहरूलाई जानकारी गराउनुपर्ने बताएका छन् ।
“पहिल्यैदेखि यो गर्ने र त्यो गर्ने भन्नुभएको छ । हामीले राज्य व्यवस्था समितिमा सँगै छलफल पनि गरेका छौँ । उहाँ प्रतिपक्षमा हुँदा अहिलेको परराष्ट्रमन्त्री गृहमन्त्री हुँदा मसँग प्रमाण छन्, अरू पनि कारबाही गर्नुपर्छ भन्नुभएको थियो । अब कारबाही गर्ने ठाउँमा उहाँ पुग्नुभएको छ । उहाँले आफ्नो मुद्दामा चलखेल नगर्ने काम गर्नुपर्छ । अरूको मुद्दामा पनि गलतलाई कारबाही गर्नुपर्छ र निर्दोषलाई फसाउने काम गर्नु हुँदैन । उहाँका बारेमा उठेका इस्यूहरूमा उहाँ आफैँले सम्बोधन गरिदिए राम्रो हुन्छ,” खतिवडाले भने ।
सांसद खतिवडाले दाग लागेका मन्त्रीहरूलाई सरकारमा राख्न नहुने बताएका छन् ।
उनले सुन तस्करी सम्बन्धी छानबिन आयोगले बुझाएको प्रतिवेदन सांसदहरूलाई उपब्ध गराउन पनि माग गरेका छन् ।


प्रतिक्रिया