कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको शुक्रबारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले १५ मिनेटपछि पुन: बस्ने गरी बैठक स्थगित भएको जानकारी गराएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि उठेका प्रश्नको जबाफ दिनुपर्ने भन्दै कांग्रेसले बैठक अवरोध गरेको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्रीमाथि सहकारी ठगीको आरोप लागेकाले त्यस विषयमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने बताए । ‘प्रधानमन्त्रीको जवाफ नआउँदासम्म माननीय उपप्रधानमन्त्रीजीको कार्यसूचीमा प्रवेश गर्न दिँदैनौं’ उनले भने ।

उपप्रधानमन्त्री लामिछानेविरुद्ध सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले पोखरामा जाहेरी दिएका छन् ।

‘कुनै पनि माननीय मन्त्रीजी कुनै अनुसन्धानको दायराभित्र, कुनै छानबिनको घेराभित्र पर्नुभएको छ भने त्यस्तो मानननीय मन्त्रीजी आफ्नो पदमा बसिरहने हक हुँदैन’, कांग्रेस नेता लेखकले भने, ‘यो हिजो प्रतिपक्षमा बस्नुभएको साथीहरुले प्रारम्भ गर्नुभएको माग हो । जसलाई जो सम्माननीय प्रधानमन्त्रीजीले नै स्वीकार गर्नुभएको छ ।’

कांग्रेसले बजेटको सिद्धान्त र प्राथमिकताको छलफलमा भने आफूहरुको अवरोध नरहेको प्रष्टीकरण दिएको छ ।