काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ ।
महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिएका छन । उनलाई काठमाडौं ल्याइँदैछ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।
रोल्पा हिँडेका महरालाई पक्राउ गरीएको आईजी बसन्त कुँवरले जानकारी दिएका छन । हिजो आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए।
गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै सो निर्देशन दिएका हुन् ।
भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको निष्कर्ष रहेको छ । महराका छोरा राहुल सो मुद्दामा अहिले पनि थुनामा छन् ।


प्रतिक्रिया