काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसद अवरुद्ध पारेर अराजनीतिक काम गरिरहेको बताएका छन् । सरकारबाट हट्नु परेका पीडामा निहुँ खोजेर कांग्रेसले संसद अवरुद्ध गरेको उनको आरोप छ ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजले बिहीबार च्यासलमा गरेको कार्यक्रममा बोल्दै ओलीले लोकतन्त्रमा राजनीतिलाई सबैको समृद्धि, खुसी र सम्मान सहितको राजनीतिक व्यवस्थाको रुपमा उपयोग गर्न पाउनुपर्ने बताए ।
एमालेले सबै समुदायको सुरक्षा र सम्मानसहितको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सम्बोधन गर्न चाहेको उनको भनाइ छ ।
‘डेमोक्रेसी किन चाहियोभन्दा यी कुराहरुमा लागि चाहियो। डेमोक्रेसी संसदमा सरकारबाट हट्नुपर्यो भनेर निहुँ खोजेर संसद अवरुद्ध गर्ने, च्याठिने, आक्रोश पोख्ने, विरह बिसाउने, छाती पिटेर रुने मात्रै ठाउँ होइन राजनीति,’ उनले भने, ‘त्यसो भएर राजनीतिलाई एउटा माध्यम हो । त्यही संयमका साथ राजनीतिक कार्य हामीले गर्नु पर्दछ ।’
अध्यक्ष ओलीले सबै समुदायको सुरक्षा र सम्मानलाई ध्यानमा राखेर राजनीतिक गतिविधिलाई अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने, ‘समाजको उन्नति, प्रगति, समानता, शान्ति सुव्यवस्था, स्वच्छता, पारदर्शिता र समानताका लागि । सबैको सुरक्षा, सबैको सम्मान । यो कुरामा राजनीतिले ध्यान दिनुपर्दछ । त्यसकारण हामीले समृद्धि नेपालः सुखी नेपालीको प्यारामिटरमा अधिकार मात्रै होइन, सुरक्षा र सम्मान पनि जोडेका छौँ । किनभने असुरक्षा र असम्मानको स्थिति, अपमानको स्थितिबाट हाम्रो समाज गुज्रिएर आएको छ । त्यसकारण हामीलाई सुरक्षा र सम्मान चाहिन्छ ।’


प्रतिक्रिया