काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरू हाबी हुन थालेको टिप्पणी गरेका छन् । उनले पार्टीलाई इमान्दार र योग्य मानिसहरू चाहिएको बताए ।
मंगलबार काठमाडौंमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नविन्द्रराज जोशी’ विषयक अन्तरक्रियामा बोल्दै उनले मुलुकमा छट्टुहरू राजनीतिमा आउने र ‘लटरपटर’ पार्ने काम सुरू गरेको टिप्पणी गरेका हुन् ।
उनले भने, ‘कांग्रेसलाई इमान्दार पनि, सँगसँगै योग्यताका निम्ति पर्यत्न गर्ने मानिसहरू बढी चाहिएको छ । राजनीति विस्तारै कस्तो हुन थाल्यो भने छट्टुहरू हाबी हुन थाले। छट्टुहरू आउँछन्, लटरपटर पार्छन्, झुक्याउँछ, यसो रंगरोगन गर्छ र जान्छ। हामीलाई छट्टुहरू चाहिएको होइन ।’
महामन्त्री थापाले कांग्रेसभित्र पनि मति बिग्रेका नेताहरू भएको भन्दै त्यसमा सुधार गरेर अघि बढनुपर्ने बताए । पार्टीलाई धैर्यता, गति र मति भएको मानिसहरू आवश्यक परेको उनले बताए ।
‘गति छ मति छैन, मति छ गति छैन । हामीलाई त गति र मति दुवै चाहियो,’ महामन्त्री थापाले भने, ‘हामीले यो बेलामा मति पनि ठिक राख्नु पर्नेछ । हामीले आफ्नो घरभित्रको फोहोर पनि सफा गर्नु पर्नेछ। हाम्रो घरभित्र फोहोर छ कार्पेटमुनि राखेर हुँदैन, सफा बनाउनैपर्छ। मति बिग्रेको छ, पवित्र बनाउनैपर्छ ।’
कांग्रेसले ठिक ढंगले आफ्नो लय पक्रनुपर्ने उनले बताए । जनताले लामो समयदेखि धैर्यता राखिरहेको उनले बताएका छन् । ‘बाहिरको समाजको गति कति अघि बढेको छ। आफ्नै जीवनकालमा केही कुरा बदलाव आओस् भन्ने चाहेको छ । चाँडोभन्दा चाँडो परिवर्तन आओस् भन्ने खासगरी नौजवानभित्र छ,’ उनले भने, ‘चाँडोभन्दा चाँडो परिवर्तन होस् भन्ने चाहनालाई उत्तेजनाको राजनीति गर्नेहरूले त्यसको दुरूपयोग गर्ने भए ।’
चेतनाको राजनीति गर्नेहरूले लय पक्रनुपर्ने उनले बताए । उनले रूपान्तरका लागि प्रयास गरिनुपर्ने बताए । राजनीति गर्नेहरूलाई मलाई सबैकुरा थाहा छैन भन्ने ख्याल गर्नुपर्ने पनि थापा बताउँछन् ।
उनले आफूलाई बदल्न चिन्तन र अध्ययन गर्नुपर्ने धारणा राखे । थापाले कांग्रेसभित्रको गुटगत प्रतिस्पर्धा र शक्ति संघर्षले कोर विषय नै हराउने गरेको दाबी गरे। उनले केहि राम्रो गरौं भन्दाभन्दै गुटका कारण कोर कुरा हराउने स्पष्ट पारे ।
प्रजातन्त्र र लोकतन्त्रमा विश्वास गर्छु भनेर मात्र नहुने भन्दै थापाले कहिलेकाहि शक्ति संघर्ष हुने बताए। थापाले नवीन्द्रराज जोशी लामो रेसको खेलाडी रहेको भन्दै स्मरण गरे ।


प्रतिक्रिया