काठमाडौं । सर्वोच्च अदालतमा गण्डकी प्रदेश सरकारविरुद्धको रिट दर्ता गरिएको छ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे सभामुखको समेत हस्ताक्षरबाट बहुमत देखाएर (एमाले) संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त गरिएको भन्दै सर्वोच्च अदालत पुगेका हुन् ।
उनले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, सभामुख कृष्णप्रसाद धिताल, मुख्यमन्त्री खगराज अधिकारीसमेतलाई विपक्षी बनाएर रिट दायर गरेका छन् । मुख्यमन्त्रीमा अधिकारीको नियुक्त असंवैधानिक दाबीसहित बदर गर्न माग गरिएको छ । पाण्डेले दायर गरेको रिटमा सर्वोच्चले बुधबारलाई पेसी तोकेको छ ।
बुधबार प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेश भएमा मुख्यमन्त्री अधिकारी नेतृत्वको गण्डकी सरकार ढल्नेछ भने अन्तरिम आदेश नभएमा भने अन्तिम आदेश नहुँदासम्म गण्डकीमा अधिकारी नेतृत्वको सरकार रहनेछ ।
पाण्डेले कोशी प्रदेशको नजिर देखाउँदै आफूलाई मुख्यमन्त्रीमा निरन्तर गर्न पनि माग गरेका छन् । पाण्डेले कोशी प्रदेश सरकारमा यसै प्रकारको फैसला सर्वोच्चबाट भइसकेको र त्यही नजीरअनुसार अन्तरिम आदेश जारी हुने विश्वास पनि व्यक्त गरेका छन् ।
प्रतिक्रिया