काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) लाई राजनीतिक दलका रुपमा फेरि टाउको उठाउन नसक्ने गरी ध्वस्त पार्ने योजनासहित मधेश प्रदेश सरकारको नेतृत्व एमालेले लिन खोजेको छ । दुवै पार्टीको आधारभूमि मधेश नै भएकाले माधव र उपेन्द्रलाई सिध्याउने यो उपयुक्त अवसर भएको एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको बुझाइ छ ।
ओली र दाहाल एउटा तिरले तीनवटा शिकार गर्ने योजनामा छन् । पहिलो योजना मुख्यमन्त्री सरोजकुमार यादवलाई उपेन्द्रबाट अशोक राईको कित्तामा पु-याउनु हो । यदि मुख्यमन्त्री यादवले उपेन्द्र क्याम्प छाडेर अशोक राई क्याम्पमा आए उनको मुख्यमन्त्री पद कायमै रहन सक्ने बताइएको छ ।
तर, समाचार स्रोतका अनुसार विगत केही दिनदेखि यो प्रयास भए पनि सफल नहुने संकेत प्राप्त भएपछि एमाले माओवादी प्रदेश सरकारबाट बाहिरिएको बताइएको छ । अब मुख्यमन्त्री यादवसँग विश्वासको मत लिने वा पद छाड्ने दुईमध्ये एक मात्र विकल्प बाँकी छ ।
मुख्यमन्त्री यादवले उपेन्द्रलाई छोड्न नमानेपछि सीके राउतको जनमत पार्टीलाई अगाडि सरिएको छ । १३ सिट रहेको जनमत पार्टीसँगै ८ सिट रहेको महन्त ठाकुरको लोसपालाई पनि छलफलमा एमालेले डाकेको छ । लोसपा, जनमत, एमाले र माओवादी पार्टी मिल्दा झिनो बहुमत पुग्छ । लोसपा र जनमतलाई प्रदेशमा चित्त नबुझे केन्द्रमा रोज्जा मन्त्रालय दिएर भए पनि मनाउने तयारी ओली–प्रचण्डले गरेका छन् ।
मधेश प्रदेश सरकार ढाल्नुको मूल उद्देश्य गठबन्धनबाट उपेन्द्र यादव र माधवकुमार नेपाललाई राजनीतिक सिनबाट आउट गर्नु हो भन्ने बुझ्न कुनै आइतबार कुर्नु पर्दैन । उपेन्द्र र माधवलाई आउट गरेर जनमत र लोसपालाई भित्र्याउँदा सरकार सञ्चालनमा सहज हुने रिडिङ ओली-दाहालको छ ।
माधव नेपालको १० जना र उपेन्द्र यादवको ५ जना हटाएर अशोक राईको ६, जनमत पार्टीको ६ र लोसपाको ४ जनालाई गठबन्धनमा छिराउने तयारी भइरहेको छ । यदि यो रणनीति सफल भए माधव नेपालको पार्टी फुटाउन र उपेन्द्रलाई धुलोपिठो पार्न सहज हुने ओली-दाहालको बुझाइ छ ।
यो परिवेशमा माधव नेपालको पार्टी फुटाउन सके ‘मिसन ८४’ पछि नेपाली राजनीतिबाट माधव नेपाल र उपेन्द्र यादवहरु सीपी मैनालीझै हराएर जाने सम्भावना रहेको विश्लेषण गरिएको छ ।


प्रतिक्रिया