प्रधानमन्त्री दाहालले विश्वासको मत संख्या बढाउन नसक्ने

प्रधानमन्त्री दाहालले विश्वासको मत संख्या बढाउन नसक्ने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत लिने तयारीमा जुटेका छन् । उनी यही जेठ ७ गते सोमबार विश्वासको मत लिने तयारी गरेका हुन् । प्रधानमन्त्री दाहालले पछिल्लो पटक गत फागुन ३० गते गठबन्धन बदलेपछि विश्वासको मत लिएका थिए । त्यति बेला २६८ सांसदले मतदान गरेकोमा प्रधानमन्त्री दाहालको पक्षमा १५७ मत परेको थियो भने विपक्षमा ११० मत परेको थियो ।

प्रधानमन्त्री दाहालले ७ गते सोमबार लिने विश्वासको मत पनि पछिल्लो पटककै हाराहारीमा पाउने विश्लेषण गरिएको छ । प्रधानमन्त्री दाहाललाई एमाले ७९, माओवादी ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २१, नेकपा एकीकृत समाजवादी १० र जनता समाजवादी पार्टीका ७ मत आउने निश्चित छ । यी मत जोड्दा १४९ पुग्छ । यसमा सीके राउतको जनमतको ६ र नागरिक उन्मुक्ति पार्टीको ४ मध्ये २ थपिने लगभग निश्चित छ । यो ८ मत थपियो भने प्रधानमन्त्री दाहालले १५७ मत पाउने छन् । यो मत भनेको प्रधानमन्त्री दाहालले पछिल्लो पटक प्राप्त गरेको मत संख्या बराबर हो ।

यसपटक सीके राउतको ध्यान मधेश प्रदेशले खिचेको छ । सिकेको जानी दुस्मन उपेन्द्र यादवको पार्टीलाई रिङ आउट गरेर मधेशको नेतृत्व लिने सर्तमा उनले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदै छन् । केन्द्रमा एउटा मन्त्री र मधेशको नेतृत्व नपाए जनमत पार्टी छिट्टै नै सत्ता गठबन्धनबाट टाढा बस्ने बताइएको छ ।

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने पक्काजस्तै छ । पार्टीभित्रको आन्तरिक कलहले विभाजित मनस्थितिमा रहेको नागरिक उन्मुक्ति पार्टीको आधिकारिक अध्यक्षको विवाद सर्वोच्चमा पुगेको छ ।

सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले पुनः विश्वासको मत लिनुपर्ने भएको हो । उनले संविधानको धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो । यस अघि २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासका मत लिएका थिए । त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए।

त्यसपछि २०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरिएपछि चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए । त्यतिबेला सदनमा २६२ सांसद उपस्थित भएका थिए। विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो ।