काठमाडौं । कांग्रेसका नेता शेखर कोइरालाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सत्तामा नभएको भए आफ्नो दलले सहकारी ठगीमा कारबाहीको माग नगर्ने बताएका छन् ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले लामिछाने गृहमन्त्री भएका कारण आफूहरुले ठगीबारे छानबिन हुनुपर्ने माग राखेको बताए । ‘रवि लामिछानेजी सरकारमा नभएको भए, त्यो पनि गृहमन्त्री नभएको भए हामी केही पनि गर्दैन थियौँ होला’, उनले भने, ‘किनभने तल्लो तप्काका मानिसहरुले पैसा जम्मा गरी सहकारीमा राखेर त्यो रकम अपचलन भएको कुरा हो ।’ कोइरालाले ठगी आरोप लागेको मानिस गृहमन्त्रीको कुर्सीमा बस्न नमिल्ने उल्लेख गरे ।
कोइरालाले छानबिनको माग राखे पनि पदबाट राजीनामा भने नमागिएको स्पष्ट गरे । उनले लामिछानेलाई संसद्मा आफूहरुको बोल्न नदिएको भन्ने कुरा गलत भएको दाबी गरे । लामिछानेले बोलेका विषयमा चित्त नबुझे प्रतिप्रश्न गर्न पाउनुपर्ने आफूहरुको सर्त स्वीकार नभएका कारण मात्र संसदमा अवरोध भइरहेको उनको भनाइ थियो ।
‘रवि लामिछानेजीलाई बोल्न पनि नदिने ? तपाईहरुको पार्टी कस्तो हो ? भन्दै हामीलाई प्रश्न गर्ने साथीहरुलाई भन्न चाहान्छु कि हामीहरुले उहाँलाई बोल्न नदिएको होइन । रविजी बोल्नुस् भनेकै हो हामीहरुले । तर उहाँ बोल्ने बित्तिकै हामीले फेरि प्रश्न गर्न नपाउने भन्ने हुँदैन । उहाँले बोल्नेबित्तिकै उहाँमाथि लागेको आरोप पखालिने अवस्था छैन’, कोइरालाले भने । लामिछानेलाई आफूमाथि लागेको आरोप गलत भन्ने दाबी छानबिनबाट पुष्टि गर्न चुनौती दिए ।


प्रतिक्रिया