काठमाडौँ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । गत जेठ ३ गते बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय अनुसार मंगलबार सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घर घडेरी रहेको छ । यो जग्गा पत्नी सीता दाहालको नाममा रहेको छ । उक्त जग्गाजमिन पैतृक सम्पत्ति रहेको खुलाइएको छ ।
त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख गरिएको छ। पत्नी सीता दाहालको नाममै रहेको उक्त जग्गा अंशबाट प्राप्त भएको जनाइएको छ ।
त्यस्तै प्रचण्डसँग ५ तोला सुन रहेको विवरणमा उल्लेख छ । उक्त सुन सम्पत्तिबाट आएको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । त्यस्तै एभरेष्ट बैंकको खातामा २५ लाख नगद मौज्जात रहेको छ ।
उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ
उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले सार्वजनिक गरेको सम्पत्तिमध्ये अधिकांश श्रीमती जुलीकुमारी महतोको नाममा देखिन्छ ।
महतोको नाममा जनकपुरमा ४२०० वर्गमिटर जग्गामा घर, ललितपुरमा २ रोपनी १३ आना जग्गा र घर, धनुषामा ७ बिघा क्षेत्रफल जग्गा, ललितपुरकै अर्को ठाउँमा १ रोपनी ७ आना जग्गा रहेको छ । त्यस्तै महासेठको नाममा धनुषामा १ बिघा बढी जग्गा रहेको छ ।
२ करोड २५ लाख रुपैयाँ बराबर नगद, ४३ तोला सुन, १.५ किलो चाँदी आफूसँग रहेको मन्त्री महासेठको सम्पत्ति विवरणमा उल्लेख छ । तीबाहेक पत्नी महतोको नाममा विभिन्न कम्पनीको ३ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने
जसमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेको सम्पत्ति विवरणमा भक्तपुरमा १ रोपनी १ आमा पैतृक सम्पत्ति देखाएका छन् ।
यस्तै ग्लोबल आइएमई बैंकमा ५ हजार रुपैयाँ, नेपाल बैंक लिमिटेडमा १ लाख ५ हजार रुपैयाँ मात्र लामिछानेले आफ्नो सम्पत्ति देखाएका छन् ।
यस्तै श्रीमती निकिता पौडेलको माइतीको सगोलमा १० रोपनी जग्गा, ८० तोला सुन, २० केजी चाँदी, गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको उल्लेख गरेका छन् । यस्तै घर किन्न १ करोड ५० लाख ऋण रहेको उल्लेख छ ।
यस्तै श्रीमती र आफ्नो आयबाट ४२ लाखमा किनेको टाटा नेक्सन इभी कार रहेको सम्पत्ति विवरण पेस गरेका छन् ।
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सम्पत्ति विवरणमा बैंक खातामा एक लाख २२ हजार ९ सय १८ रुपैयाँ ६४ पैसा रहेको र सो रकम सेवा सुविधाबाट प्राप्त भएको उल्लेख गरेका छन् ।
त्यस्तै श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ८ मा पैत्रिक जग्गा ३७ रोपनीभन्दा बढी रहेको र त्यो पनि २०५८ सालमा पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरेको उल्लेख गरेका छन् ।
त्यस्तै श्रेष्ठले आफ्नो सम्पत्ति विवरणमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपलब्ध गराएको गाडी प्रयोग गर्ने गरेको र सो गाडीको खरिद मूल्य र खरिद मिति आफूलाई थाहा नभएको उल्लेख गरेका छन् ।
अर्थमन्त्री वर्षमान पुन
अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको विवरण अनुसार एनएमबी बैंकमा ३३ लाख ७० हजार ६ सय १८ रुपैयाँ मौज्दात छ । उक्त रकम पुनले तलब भत्ता, भ्रमण भत्तासमेबाट प्राप्त गरेको उल्लेख गरेका छन् ।
त्यसैगरी उनको जन्मथलो रोल्पा नगरपालिका–७ माडीचौरमा ८ सय २० वर्गमिटर पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन् ।
त्यसबाहेक पुनसँग एक थान हलुका सवारीसाधन पनि छ, जसलाई उनले पार्टीको सम्पत्ति भनेका छन् ।
सञ्चार मन्त्री रेखा शर्मा
सरकारकी प्रवक्ता सञ्चार मन्त्री रेखा शर्माले सम्पत्ति विवरणमा कृष्णध्वज खड्काको नाममा कीर्तिपुर नगरपालिका वडा नम्बर ७ मा ६ आना जग्गा र साढे २ तलाको घरसमेत रहेको उल्लेख गरेकी छन् ।
प्यूठानमा कृष्णध्वज खड्का, हरि खड्का र घमानसिंह खड्काका नाममा पैतृक सम्पत्ति रहेको उल्लेख छ । सुन ६ तोला र २ तोला चाँदी रहेको र त्यो पैतृक तथा उपहारबाट प्राप्त भएको उनको भनाइ छ ।
मन्त्री शर्माको नाममा राष्ट्रिय बाणिज्य बैंकमा एक लाख ५० हजार, एभरेष्ट बैंकमा २८ हजार र क्यारिना ऋण तथा बचत सहकारी संस्थामा २० लाख रुपैयाँ बचत छ ।
उनले आफू, श्रीमान् र छोरीहरूका नाममा १५ सय कित्ता शेयर रहेको उल्लेख गरेकी छन् । ६५ लाख ऋण लिएको, २०७७ साउनमा ३६ लाखमा कार किनेको पनि उल्लेख छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बैंकमा नगद मौज्दात एक करोड ५२ लाख रुपैयाँ रहेको आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् । उनले मन्त्रिपरिषद्मा बुझाएको सम्पत्ति विवरणानुसार, उक्त रकम विभिन्न बैंकमा मौज्दात छ ।
एनआईसी एसिया बैंकमा ११५ लाख (एक करोड १५ लाख) र एभरेस्ट बैंकमा ३७ लाख आफ्नो नगद मौज्दात रहेको उनले उल्लेख गरेकी छन् । यी सबै रकम पारिश्रमिकबापत पाएको विवरणमा उल्लेख छ ।
यस्तै, उनीसँग ११ तोला सुन, १० तोला चाँदी, एक सेट हीराको हार र एक सेट हीराको टप रहेको विवरणमा उल्लेख छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद (डीपी) अर्याल
धादिङ स्थायी ठेगाना भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद (डीपी) अर्यालसँग करोडौँको सम्पत्ति रहेको पाइएको छ । उनले सार्वजनिक मन्त्रीहरूको सम्पत्ति विवरणअनुसार अर्यालकी श्रीमती अम्बिका केसीको नाममा काठमाडौँमा करिब ३ करोड मूल्य बराबरको घर रहेको छ ।
यस्तै उनको र अम्बिका केसीको नाममा १२ ठाउँमा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । धादिङको गजुरी, काठमाडौँको नागार्जुन र लमजुङको राइनासमा उनीको जग्गा रहेको हो । उक्त जग्गा व्यापार र निजी कमाइबाट आर्जन गरिएको सम्पत्ति विवरणमा उल्लेख छ ।
यस्तै अर्यालसँग १५० तोला सुन, १०० तोला चाँदी र हिरा १० तोला रहेको छ । सबै सुनचाँदी र हिरा व्यापारबाट आर्जन गरिएको सम्पत्ति विवरणमा उल्लेख छ ।
यस्तै अर्यालको विभिन्न बैंकमा नगद मौज्दात, सेयर र गाडी सम्पत्ति विवरणमा उल्लेख छ ।


प्रतिक्रिया