सिरोहिया पक्राउ पर्दा रुवाबासी गर्नुपर्दैन : अध्यक्ष ओली

सिरोहिया पक्राउ पर्दा रुवाबासी गर्नुपर्दैन : अध्यक्ष ओली



झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्दा रुवाबासी गर्नु नपर्ने बताएका छन् ।

झापामा बुधबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सिरोहिया पक्राउमा ‘ह्यु एण्ड क्राई’ गर्नुपर्ने विषय नभएको बताएका छन् ।

सिरोहिया पक्राउ पर्नुलाई सरकारले सञ्चारको हक खोसेको अर्थमा बुझ्न नहुने भन्दै उनी कुनै समाचार प्रकाशनको विषयमा नभई सरकारले फौजदारी विषयमा छानबिन गर्नुपर्ने देखेर पक्राउ परेकाे बताए ।

‘जस्तो ह्यु एण्ड क्राई भन्छन् नि! त्यो भइराखेको छ । त्यो गर्नुपर्ने जस्तो विषय लाग्दैन मलाई। विवादको विषय हुन सक्छ । जन्मकैद गर्न खोजेको होइन । सञ्चारमाथिको हमला भनेर !,’ उनले भने, ‘पत्रकारमाथि फौजदारी अभियोग छ ? मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ । किन यस्तो समाचार प्रकाशित गर्‍यो? किन यस्तो बोल्यो भन्ने विषय त होइन । विषय अर्कै छ । फौजदारी कुरा होला । यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्याे ।’

‘के लेखेको आरोप उनीमाथि लागेको छ? म त यता छु कि, के लेखेको विषयमा उनीमाथि यसरी कारबाही भयो त ? के लेखेको विषयमा गिरफ्तारी भनेको छ सरकारले ? अहिले गिरफ्तारी लेखेको विषयमा हो र ? त्यस्तो गलत व्याख्या चाहिँ उचित हुँदैन,’ उनले भने ।

देशमा सबै कानुन मातहत छन् भन्ने कुरा सबैले बुझ्नु र मान्नुपर्ने उनको भनाइ थियो ।