एमालेबाट मन्त्री बन्ने ६ जनाको सूचि तयार

एमालेबाट मन्त्री बन्ने ६ जनाको सूचि तयार


ग्लोब नेपाल
3.2k
Shares

काठमाडौं । एमालेबाट सरकारमा जानेहरुको प्रारम्भिक सूची तयार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ असारमा प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । संसदका प्रमुख दुई दल काँग्रेस र एमालेले गत १७ असारको मध्यरातमा एक व्यापारीको घरमा सत्ता समीकरण र संविधान संशोधन गर्ने सहमति गरेका थिए ।

संविधानको धारा ७६ (३) अनुसार प्रतिनिधिसभाको ठूलो दलको नेता काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने माओवादी केन्द्रको प्रयास असफल भए दुई दलको सहमतिअनुसार एमाले अध्यक्ष केपी ओली ७६ (२) अनुसार प्रधानमन्त्री बन्ने छन् ।

बालकोट उच्च श्रोतका अनुसार ओलीले यसपटक ३ जना महिला सांसदलाई मन्त्री बनाउने सम्भावना प्रबल छ । विद्या भट्टराई, सुनिता बराल र अन्जान शाक्य मन्त्री बन्ने करिब पक्काजस्तै छ । बराल र शाक्यमध्ये एकलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । कांग्रेस सभापति देउवा पत्नी आरजु राणाले पनि परराष्ट्रमा रुचि देखाएकी छन् । वर्तमान सत्ता गठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका खेलेकी राणाले परराष्ट्र पाउने सम्भावना पनि छ ।

राष्ट्रियसभाकी मनोनित सदस्य शाक्य यसअघि इजरायलका लागि राजदूत थिइन् । एमाले संसदीय दलकी सचेतक बराल त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गर्दै छिन् ।

यस्तै एमालेबाट सचिव योगेशकुमार भट्टराई, पदम गिरी र एलपी सावाँ पनि मन्त्री बन्ने चर्चा छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका कानूनमन्त्री रहेकामध्ये दोहोरिने सम्भावना गिरीको मात्र रहेको श्रोतको भनाइ छ । गिरीलाई पुनः कानूनमै दोहो-याउने वा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिने दुवै सम्भावना छ ।

यसअघि दुईपटक लगातार निर्वाचित भएर पनि मन्त्री नबनेकाहरुलाई सरकारमा पठाउने नीतिमा एमाले थियो । तर, यसपटक उक्त मापदण्ड पालना नहुने देखिएको नेताहरु बताउँछन् । एमालेले प्रधानमन्त्रीबाहेक ९ र काँग्रेसले १० मन्त्रालयको नेतृत्व गर्ने सहमति दुई दलबीच छ ।