देशभर ५ लाख ४० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकियो

देशभर ५ लाख ४० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकियो



काठमाडौँ । देशभर पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । यसवर्ष १३ लाख ९८ हजार दुई सय ७३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएकोमा अहिलेसम्म त्यसको ३८ दशमलव ६ प्रतिशत रोपाइँ सकिएको कृषि विभागले जानकारी दिएकाे छ ।

गएको वर्ष असार २४ सम्ममा देशभर ४२ दशमलव ९ प्रतिशत रोपाइँ भएको थियो । गएको वर्ष १४ लाख ९६ हजार सात सय ३७ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरेकोमा असार २४ गतेसम्ममा छ लाख ४२ हजार दुई सय ८४ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । यो वर्ष लगातारको झरीका कारण रोपाइँ प्रभावित भएको हाे । रोपाइँको लागि पानीको अभाव भने यस वर्ष कम भएको छ ।

विभागको तथ्याङ्कअनुसार सबैभन्दा धेरै सुदूरपश्चिममा ५४ दशमलव २ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । यस्तै सबैभन्दा कम मधेस प्रदेशमा २५ दशमलव ५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको हो ।

यस्तै अहिलेसम्म कोशी प्रदेशमा ३४ दशमलव ४ प्रतिशत, बागमती प्रदेशमा ४० दशमलव २ प्रतिशत र गण्डकी प्रदेशमा ४९ दशमलव ७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । यसैगरी लुम्बिनी प्रदेशमा ४४ दशमलव ४ प्रतिशत र कर्णाली प्रदेशमा ४७ दशमलव ५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको विभागको तथ्याङ्क छ ।